काठमाडौं : सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए-३३० विमान चीन पठाउने तयारी गरेको छ।
चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई विमानमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो। निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइडबडी विमान चीन पठाउने तयारीमा रहेको जनाएको छ।
चीनमा रहेका नेपालीको उद्धारका लागि विमान पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। 'हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइडबडी विमान चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ', उनले भने।
मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइडबडी विमान लैजानका लागि निगमलाई आग्रह गरेको छ। निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइडबडी विमान पठाउने वचन दिइसकेको छ।
निगमको वाणिज्य विभागका अनुसार वाइडबडी विमान पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ। त्यसैले विमान पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ। वाइडबडी विमान पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ।
कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको विमान लैजाने तयारीको जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइडबडी विमान लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए।