बुटवल । भारतको कर्नाटकको माइसुरुमा ६२ बर्षका दैनिक ज्यालादारी श्रमिक सैयद इसहाकले सञ्चालन गर्दै आएको एउटा सार्वजनिक लाइब्रेरीलाई बदमासहरुले आगो लगाइदिएका छन् । लाइब्रेरीमा तीन हजार वटा भागवत गीतासहित ११ हजार वटा किताव थिए ।
इसहाक राजीव नगर र शान्ति नगरका वासिन्दाहरुमाझ निकै लोकप्रिय अनुहार थिए । ती वस्तीका सबै वासिन्दाहरुका लागि इसहाकले गएका १० बर्षदेखि लाइब्रेरीमा निशुल्क पहुँच पुर्याएका थिए ।
राम्रो शिक्षा नपाएका इसहाकले जीविका आर्जनका लागि भूमिगत नाली सफाईको कामतिर लाग्नु अघि बधुवा मजदुरको रुपमा काम गर्दथे ।
‘विहान ४ बजे लाइब्रेरीको छेउमा घर भएको एउटा मानिसले लाइब्रेरीभित्र आगो लागेको छ भनेर मलाई जानकारी दियो । हतार हतार लाइब्रेरी पुग्दा कितावहरु खरानी बनिरहेको देखेँ ।’ इसहाकले आँसु टिल्पिलाउँदै भने ।
त्यहाँका वासिन्दाहरुलाई अध्ययन गर्ने बानीको बिकास गर्न र उनीहरुलाई कन्नड भाषा सिक्नका लागि मद्दत गर्न इसहाकले राजीव नगरको कर्पोरेशन पार्कभित्र झुपडीजस्तो देखिने संरचनामा एउटा सार्वजनिक लाइब्रेरी चलाएका थिए । प्रत्यक दिन त्यहाँ एक–डेढ सय वासिन्दाहरु त्यहाँ किताव पढ्न पुग्थे । इसहाकले कन्नड, अंग्रेजी, उर्दु र तामिल भाषाका १७ वटा पत्रिकाहरु दैनिक किन्ने गर्दथे ।
उनीसँग भएका कितावमध्ये करिब ८५ प्रतिशत कितावहरु कन्नडमा थिए भने अन्य अंग्रेजी र उर्दुमा थिए । ‘दाताहरुले दिएका अन्य प्रकारका कितावहरुबाहेक लाइब्रेरीमा तीन हजार जति भागवत गीता, एक हजार जति कुरान र वाइवल थिए ।’ उनले भने ।
कितावका लागि गोजीबाट उनले खर्च नगरे पनि लाइब्रेरीको सम्भार र पत्रिका खरिदका लागि मासिक छ हजार रुपैयाँजति उनले खर्च गर्दथे ।
घटनापछि इसहाकले उदयगिरी पुलीस स्टेशनमा बदमासहरु विरुद्ध उजुरी दर्ता गरेका छन् । पुलीसले इण्डियन पेनल कोड–४३६ अन्तर्गत उक्त उजुरी दर्ता गरेको छ । बदमासहरुको खोजी कार्य भइरहेको पुलीसले जनाएको छ ।
यद्यपि, घटनाले इसहाकलाई हतोस्ताही बनाएको छैन । ‘म डराउने छैन । फेरि सुरुबाटै लाइब्रेरी पुननिर्माण गर्नेछु,’ उनले भने,‘मैले शिक्षा पाएको थिएन । मेरो नियती अरुले भोग्नु नपरोस् भन्ने म चाहन्छु । मानिसहरुले सिकुन्, पढुन् र कन्नड भाषा बोल्न जान्ने होउन् । मैले यसलाई फेरि बनाउने छु ।’
–‘इण्डियन एक्सप्रेस’को सहयोगमा