बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट एउटा पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । उक्त बाघले केही समययता मानव वस्तीमा पसेर मानिसहरुलाई नै आक्रमण गर्ने गरेको टोलीले बताएको छ । टोलीले गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिएको छ ।
बर्दिया निकुञ्जको प्राविधिक टोलीले गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएपछि निकुञ्ज मुख्यालय ठाकुरद्धारा ल्याउन लागिएको छ । बाघलाई निकुञ्जको प्राविधिक टोली , राष्ट्रिय प्रकृती संरक्षण कोष र नेपाली सेनाको टोलीले ‘ट्राङ्क्युलाइजर डार्ट’ हानेर बुधवार बेलुका नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिइएको बाघ बुढो रहेको र त्यसको खुट्टामा समेत चोट रहेको बताइएको छ । उसका केही दाँत समेत झरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।
मंगलबार दिउँसो एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिए लगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । पछिल्लो सयम निरन्तर पाटेबाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेसंगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो । यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाट मान्छे पल्किएको एउटा बाघ निकुञ्जको टोलीले नियन्त्रणमा लिइसकेको छ ।
यसैबिच पाटे बाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही महिनादेखि पाटे बाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भैरहेका पर्यटकिय गतिविधिहरुमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो ।
पाटेबाघको आक्रमणबाट मंगलबार एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा एक वर्ष भित्र ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।