बुटवल-तिलोत्तमा नगरपालिका रुपन्देहीमा आजबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । नगरका सबै १७ वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाइएको हो ।
वडा नं. ५ को खोप केन्द्रबाट अभियानको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाऊँन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताए ।
उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई अनुरोध गर्दै नगर प्रमुख घिमिरेले जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न सबैलाई आग्रह गरे ।
नगर उपप्रमुख जागेश्वरी चौधरीले विश्व स्वास्थ्य संगठनले प्रयोग अनुमति दिएको खोप लगाईं कोभिड–१९ बाट सुरक्षित रहन सबै नगरबासीलाई आह्वान गरिन् ।
चैत ३ गतेसम्म चल्ने अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका झण्डै दश हजार ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउने अनुमान छ । अभियानको पहिलो दिन २ हजार ३७७ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए।