बर्दिया । बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका—३ स्थित सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी सोही स्थानकी अन्दाजी २९ वर्षीया रेनुका सुनारलाई दिउँसो करिब १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको हो । सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए । बाघले सुनारलाई आक्रमण गरेपछि ज्यान जोगाएर सशस्त्र प्रहरी बललाई जानकारी गराएका थिए । उनको शव दशगजामा फेला परेको छ ।