गुल्मी- गुल्मीमा प्रहरीले गाडी र मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। चोरीमा संलग्न रहेको भन्दै मेटल वर्कसपमा काम गर्ने रेसुंगा नगरपालिका ७ भुजेलखर्कका २३ बर्षका सन्दिप चुदारालाई प्रहरीले सार्वजनिक गरेको हो। उनले गत फागुन १८ गते राति तम्घासको मध्ये बजारबाटै केशव अधिकारीको लु १ च ६१६४ नम्बरको बोलेर जिप चोरेर सत्यवति गाउँपालिकाको उल्लीखोला पुराएका थिए।
गाडी तम्घासबाट चोरी गरेर धुर्कोट हुँदै सत्यवति तर्फ लैजादै गर्दा उल्लीखोलामा एक्कासी बन्द भएपछि चुँदाराले छोडेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए। त्यस्तै चुदराले फागुन २२ गते राति तम्घासकै उदिनढुङाबाट लु ५७ प ४५५ नम्बरको कालो पल्सर चोरी गरेको प्रहरीकाे भनाइ छ।
त्यो मोटरसाइकल चोरेर लैजाने क्रममा बजारमै बन्द भएपछि बजारमै छोडे । सोहि दिन मिलनचोकबाट बा ७४ प ९३९० नम्बरको आर वान फाइभ भिटु मोटरसाइकल चोरेर अर्घाखाँची लगायतका स्थानमा पुगेर फर्किने क्रममा रेसुंगा नगरपालिका ७ साखिनेडाँडाबाट आफुहरुले पक्राउ गरेको पाण्डेयले बताए।
नयाँ प्रहरी प्रमुखद्धारा पत्रकार भेटघाट
गुल्मी जिल्लामा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले पत्रकार भेटघाट गरेका छन्। उनले जिल्लाको वस्तुस्थितीको बारेमा पत्रकारसंग छलफल गर्न पत्रकार भेटघाट तथा अन्तरक्रिया राखेका थिए। पछिल्ला अपराधको घटनामा अपराध अनुसन्धानमा फितलो गरेको आरोपमा पुर्व प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रबिणलाल श्रेष्ठ केन्द्र सरुवा भएका थिए।
त्यसैले पनि नयाँ प्रहरी प्रमुख भट्टराईलाई गुल्मी चुनौति र अवसर दुवै हो। उनले रेसुंगा नगरपालिका १४ पराल्मी र इस्मा गाउँपालिका १ हस्तिचौरको हत्याका बिषयमा बिशेष काम गर्नुपर्ने चुनौति छ। प्रहरी प्रति नागरिकमा छाएको निराशा दुर गर्न यी घटनामा प्रहरी संगठन जोडतोडका साथ लाग्नुको बिकल्प छैन्। त्यसैले प्रहरी र समुदायबिच समन्वय तथा सम्बन्ध सुधारनै आफ्नो पहिलो प्राथकितामा हुने भट्टराईले बताए।
त्यसपछि जिल्लामा बाँकी रहेका अपराधको सहि अनुसन्धान मार्फत संलग्नहरुलाई कानुनको दायरामा ल्याउने, इलाका प्रहरी कार्यालयमा दरबन्दी अनुसारका प्रहरी निरिक्षक ल्याउने, अपराधको न्यूनिकरणसंगै अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउन आन्दोलन र भिडभन्दा समुदायलाई नै उत्तरदायी बनाउने भट्टराईले प्रतिद्धता व्यक्त गरे । उनले पत्रकार र समुदायबाट आवश्यक सूचना र समन्वयको अपेक्षा व्यक्त गरे । उनले भाडगाउँको उदाहरण प्रस्तुत गर्दै स्थानीयको सहयोग भए पराल्मी र छिनुवा घटनामा संलग्न अभियुक्त कुनै अवस्थामा उम्कन नसक्ले बताए ।