बुटवल । बुटवल–१७ रानिगञ्जका स्थानीयले लाल पूर्जा पाइने आसामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग सहमति गरेको बताएका छन् । औद्योगिक क्षेत्र शिलान्यासका क्रममा स्थानीयहरुले प्रतिरोध गरेर ढुङ्गामुढा गरेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रानीगञ्जका स्थानीयसँग सहमति गरेको थियो ।
औद्योगिक क्षेत्र निर्माण गर्न लिमिटेडले स्थानीयहरुको व्यवस्थापन नै नगरी ८ सय १३ विगाहा क्षेत्रफल जमिनको लालपुर्जा आफ्नो नाममा लिएर डिपिआर तयार गरेपछि स्थानीयहरु सशंकित बनेका हुन् ।
त्यसमध्ये गएको शनिबार लिमिटेडले रानीगञ्जका स्थानीहरुसँग छलफलपछि ७ बुँदे सहमति गरेको थियो । तर, लालपुर्जा लिइसकेको अन्य क्षेत्रहरु वडा १७ कै हरिहरपुर, झरनापुर, वडा नं १८ र शुद्धोधन–३ का स्थानीहरुसँग लिमिटेडले अझै ‘डायलग’ सुरु नै गरेको छैन ।
रानीगञ्जका प्रतिनिधिहरुले गत शनिबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग भएको सहमतिबारे स्थानीयलाई जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै जनआत्मा विकास समूहका अध्यक्ष बुद्धिराम थारुले आफूहरुले लाजपूर्जा पाउने आसामा सहमति गरिएको बताए । उनले रानीगञ्ज क्षेत्र अर्थात् औद्योगिक क्षेत्रको ‘बी’ ब्लकमा डिपीआर गर्दा २ सय ६२ प्लट कायम गरिएको र त्यस भित्र ग्रिन जोन लगाएत कित्ता नं. ४७ र ४८ भित्र परेको अव्यवस्थित बस्तीलाई डिपीआरबाट अलग्गै बनाएको जानकारी दिदैं ति अव्यवस्थित वस्तीलाई व्यवस्थित गर्ने प्रतिवद्धता लिमिटेडले दिएका कारण सहमतिमा पुगेको बताए ।
‘हामीले ठूलो लविङ गरेपछि डीपीआरबाट बस्तीलाई अलग बनाएका हौं ।’ थारुले भने–‘हामीले यहाँ निर्माणमा कुनै पनि विवाद सिर्जना गर्ने छैनौं ।’