बुटवल । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलमाथि औद्योगिक क्षेत्र शिलान्यासका क्रममा ढुंगामुढा र विरोध प्रदर्शन भएपछि उनले विकासविरोधी तत्वले आक्रमण गरेको बताएका छन् ।
शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं १७ मा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न कार्यक्रमस्थल पुगेका अर्थमन्त्री पौडेललाई असन्तुष्ट स्थानीयहरुले नारावाजी तथा ढुँगामुढा गर्दै कार्यक्रमस्थलबाट लखेटेका थिए ।
औद्योगिक क्षेत्रले ओगट्ने क्षेत्रको मुआब्जा दिन र आफ्ना माग पूरा गर्न माग गर्दाकै अवस्थामा शिलान्यास हुने खबरले स्थानीयलाई असन्तुष्ट पारेको थियो ।
विरोधकाबीच औद्योगिक व्यवस्थापन लिमिटेडले स्थानीयसँग सहमति नगरी सुरक्षाकर्मी परिचालन गरेर सुरक्षाघेरामा कार्यक्रम सञ्चालन गरेपछि स्थानीयले अर्थमन्त्री पौडेलविरुद्ध नाराबाजी र प्रदर्शन गरेका थिए ।
स्थानीयले वास्तविक कुरा नबुझी राजनीतिक व्यक्तिको स्वार्थका पछि लागेर नाराबाजी र प्रदर्शनमा उत्रिएको पौडेलले बताए । कार्यक्रम बिथोदिएपछि बुटवलमा छोटो पत्रकार सम्मेलन गर्दै पौडेलले बिकास बिरोधी तत्वले आक्रमण गरेको प्रतिक्रिया दिए ।
‘उहाँहरुले वास्तविक कुरा बुझ्नुभएन, कसैले उचालेकै भरमा उहाँहरु विरोध प्रदर्शनमा आउनुभयो, उहाँहरुले माग गरेअनुसार हामीले पुरा गर्छौं,’ कार्यक्रमस्थलबाट सिधा बुटवल आएर पत्रकार सम्मेलन गरेका पौडेलले भने–‘उहाँहरुले लालपूर्जा माग्नुभएको छ, उहाँहरुले लालपूर्जा पाउनुहुन्छ, यही सरकारले उहाँहरुलाई लालपूर्जा दिन्छ र उहाँहरुको समस्या समाधान गर्छ।’ उनले विकासको विरोध गर्नेहरु खुलेर आउन आह्वान गरे ।
’पर्दापछाडि को हुनुहुन्छ, उहाँहरुलाई खुलेर आउन म आग्रह गर्छु,’ उनले भने,‘उहाँहरुलाई म चुनौती दिन चाहन्छु कि विकास रोकेर देखाउनुस् ।’ पत्रकार सम्मेलनमा उपस्थित उद्योग मन्त्री लेखराज भट्टले देशभरका औद्योगिक क्षेत्रहरुको शिलान्यास भएको र छिटै काम अघि बढ्ने बताए। उनले विरोध भएका ठाउँहरुमा स्थानीयका माग पूरा गर्ने गरी तयारी अघि बढाइसकेको बताए।