गुल्मी । झारफुकको नाममा कुर र अमानवीय तबर्ले डामेर हत्या गरेको आरोपमा श्रेष्ठ दम्पती पुर्पक्षका लागि जेल चलान भएका छन । मालिका गाउँपालिका ६ अर्जेका ३८ बर्षीय राम प्रसाद श्रेष्ठ र उनकी श्रीमती ३६ बर्षीया शान्तिला श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
उनीहरुले गत पुस २९ गते इस्मा गाउँपालिका ३ दर्लामचौरका ६४ बर्षीय राम बहादुर मुखियाको बिमार सञ्चो बनाउने नाममा डामेर हत्या गरेको आरोप छ । मृतक मुखियाका छोरा कृष्ण मुखियाको जाहेरीका आधारमा आरोपित दम्पतीलाई प्रहरीले पुस २९ गते नै गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान पश्चात् आरोपितहरुलाई गुल्मी अदालतमा पेश गरेकोमा जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले मुद्दा पुर्पक्षका लागि जेल पठाएको सुचना अधिकारी तथा श्रेस्तेदार भिम प्रसाद भुसालले जानकारी दिए । जिल्ला अदालतमा नेपाल सरकारबाट प्रतिबादी विरुद्ध जन्म कैदको मागदाबीसहित अभियोग पत्र पेश भएको छ । सोही दिन झारफुकको नाममा रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई र मृतकका छोरा ३४ बर्षीय छोरा हुम बहादुर मुखिया घाइते भएका थिए । उनिहरुको गुल्मी अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भएको थियो ।