भैरहवा-पक्लिहवा स्थित कृषि क्याम्पसबाट भेटेनरी अस्पताल (पशु शिक्षण अस्पताल)अन्यत्र सार्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन। क्याम्पस परिसर भित्रै बनाउनु पर्ने अस्पताल विभिन्न बहानामा षडयन्त्र गरी स्थानान्तरण गर्न लागेको भन्दै स्थानीयले नाराबाजी गर्दै क्याम्पस प्रमुखको कक्षमा ताला लगाएका हुन।
५ वर्ष अघि अस्पतालको डिपीआर र नक्सा समेत तयार भई नेपाल सरकारबाट ३ करोड बजेट विनियोजन भइसक्दा पनि क्याम्पस प्रशासनले कुनै चासो नदेखाई बजेट फ्रिज गरेर फिर्ता पठाएको छ। ७ वर्ष अघि भेटेनरीको कार्यक्रम सुरु भएकाे थियाे।, बि एस्सी भेटेनरीको प्रमुख मेरुदण्डको रुपमा रहेको प्रयोगात्मक सिकाई केन्द्र नेपालकै दोस्रो भेटेनरी अस्पतालको रुपमा सुरुवात गर्ने भनिएको थियो।
सातौ व्याच आइसक्दा र तीन वटा व्याच उर्तीण भएर गइसक्दा पनि पूर्वाधारको तयारी गर्नुको साटो प्रशासन आखा चिम्लेर बसी अन्यत्र सार्न चलखेल गरेको स्थानीयले आरोप लागए। पशु शिक्षण अस्पतालको सम्पुर्ण संरचना तयार भई पुर्ण रुपमा सञ्चालन नभएसम्म युनिट, एक्सटेन्सन कम्यसनटी आउटरिच प्रोगाम लगातको कुनै पनि बहानामा अन्यत्र निर्माण गर्न नदिने स्थानियहरुले चेतावनी दिएका छन्।
अन्य ठाँउको लागि आएको बजेट निकासा समेत पक्लिहवा कृषि क्याम्पसको खातामा रकमान्तर नगरेसम्म आन्दोलन जारी राख्ने स्थानीयले बताएका छन। आन्दलोलनको पहिलो चरण अन्तर्गत पक्लिहवा कृषि क्याम्पस प्रमुखको कार्यालयमा माग सम्बोधन नभए सममको लागि अनिश्चितकालिन तालाबन्दी र क्याम्पस स्वामित्वमा रहेको कुनै पनि सवारीसाधन क्याम्पस हाता भन्दा बाहिर चलाउन बन्देज लगाइएको स्थानीय संघर्ष समितिका संयोजक शुसिल गुरुङले बताए।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्ल, वडा नम्बर २ का अध्यक्ष दिपक कुमार थापा, स्थानीय दुर्गा मन्दिरका अध्यक्ष खुशीमान गुरुङ, वडा सदस्यहरु लगायतले कुनै पनि हालतमा भेटेनरी अस्पताल स्थानान्तरण गर्न नदिने, लैजाने नै भए अधिग्रहण गरेको जग्गा फिर्ता गर्नु पर्ने नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
क्याम्पस प्रमुख डा. राम भजन मण्डलले पक्लिहवा कृषि क्याम्पसको कुनै पनि कार्यक्रम बाहिर गएको क्याम्पस प्रसासनलाई नभएको बताए। आफू आएको २ महिना मात्र भएको र कार्यक्रमबारे बुझेर स्थानीयको माग सम्बोधन गर्ने उनले बताए ।