दाङ । लुम्बनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरणको कार्यालय भएको छ । गत असोज २० गते प्रदेश सभाको बैठकबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेपछि नयाँ राजधानीमा सर्ने पहिलो प्रादेशिक कार्यालय प्राधिकरण बनेको हो ।
प्रदेशको स्थायी राजधानीको गुरुयोजना बनाउन पूर्वाधार विकास प्राधिकरणको कार्यालय यहाँ स्थापना गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वाधार विकास प्राधिकरणको उद्घाटन गर्दै अवको राजधानी कस्तो हुने बारेमा योजनाबारे सुनाएका छन् ।
‘नयाँ मोडेलमा अघि बढ्छौं । आयोजनाले जग्गा प्राप्त गर्छ । त्यसपछि विकसित घडेरी दिन्छौं,’ उनले भने,‘नाङ्गो तार राजधानीमा देखिन्न । अण्डर ग्राउण्डबाट टेलिफोन, बिजुलीको तार बिस्तार हुन्छ । आकाश खुला देखिन्छ । पानी जमेको ठाउँ हुदैन ।’
राजधानी तोकिएको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिकाको ८ र ९ नम्बर भित्र रहेको जमिनलाइ ‘मास्टर प्लान’को योजना भित्र राखिने र नयाँ मोडेलका साथ अघि बढ्ने योजना सार्वजनिक गरे ।
डुबान क्षेत्रलाई निकास क्षेत्रको रुपमा विकास गर्दै खुला र फराकिलो सडक, व्यवस्थित ढल निकास, नदि किनारमा सुन्दर सहर बन्ने लगायतका योजना सुनाए । राप्ती नदिको दुबै किनारलाइ व्यवस्थित तटबन्ध गरेर सडक र हरियाली क्षेत्र बनाइजे, राप्ती नदिमा कलात्मक सिक्नेचर पक्की पुल निर्माण गरिने, राप्ती नदिमा बारैमास पानीको उपलब्धता हुने, दाङ र प्युठानको सिमानाको बिचमा राप्ती नदिमा जलासय बनाइने बताए ।‘नौमुरे आयोजना अघि बढ्छ । त्यसपछि ड्याम बन्छ । नदि सधैंभरि हराभरा हुन्छ । हरियाली क्षेत्र हुन्छ । सुन्दर बाटो हुन्छ’उनले भने–‘जलविद्युतबाट निस्किएको पानीलाई थुनिन्छ । त्यसपछि पानी नियमित रुपमा छोडिन्छ । पर्यटकीय नयाँ शहर बस्छ ।’
बुटवल देखि कोहलपुर सम्म पूर्व पश्चिम राजमार्गलाई फराकिलो बनाउने काम अघि बढ्ने जानकारी दिए । ‘वस्तीमा ६ लेनको सडक र जंगलमा चार लेन सडक बन्छ,’उनले भने,‘यहीँ देउखुरी भएर एसियन रेल्वे अघि बढ्छ । त्यसका लागि पनि सोच्नु पर्ने छ ।’
'मास्टर प्लान' अन्तरगत संरचना बनाउनु पर्ने भन्दै राजधानी तोकिएको क्षेत्रमा नयाँ घर नबनाउन अनुरोध गरे ।‘पुराना बनेका घरहरु भत्किदा प्रदेश सरकारले क्षतिपूर्ति दिन्छ । नयाँ घर राजधानीको निर्णय पछि बनाइएका घर भत्काउदा क्षतिपूर्ति दिइदैन’मुख्यमन्त्रीले कडाइका साथ भने–‘पालिकाहरुले शिक्षा र स्वास्थमा लगानी गर्नुस । सडक, पुलमा अहिले लगानी नगर्नुस । मान्छेको क्षमता बढाउने दिशामा काम गर्नुस । पूर्वाधारमा हामीले लगानी लगाउछौं ।’
कार्यालय उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले चालू आर्थिक बर्ष भित्र राजधानीको गुरुयोजना बनाइसक्नेगरी काम अघि बढेको जानकारी दिए । ‘निर्धारित समयमा मास्टर प्लान बन्ने छ । नयाँ रोशनी जन्मिनेछ’उनले भने,‘प्रदेश सरकारले यहीँ बाट नेतृत्व गर्छ । त्यसका लागि सबैको सहयोगको खाँचो छ । सुन्दर शहर, सुन्दर नगरी, सुन्दर राजधानी बनाउने छौं । त्यसका लागि जनताको साथ चाहियो ।’
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले ल्याण्डपुलिङ्गको अवधारणाबाट राजधानी निर्माण गरिने जानकारी दिए ।‘ल्याण्ड पुलिङ्गबाट राजधानीको संरचना बनाउने हो । चाँदीबाट सुरुवात गर्दै छौं, हिरा बनाएर हस्तान्तरण गर्छाैं’उनले भने–‘प्रदेश राजधानी बनेपछि स्थानान्तरण हुने पहिलो कार्यालयको रुपमा पूर्वाधार विकास प्राधिकरणको कार्यलय भएको छ । अव बिस्तारै संसद भवन, मन्त्रालय, अन्य कार्यालय आउने छ ।’
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सबै दृष्टिकोणले उपयुक्त राजधानी बन्ने विश्वास व्यक्त गरे । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख ध्रुब मजगैयाँले प्राधिकरणले गर्ने कामको बारेमा जानकारी गराए ।