गुल्मी–गुल्मीका गाउँगाउँमा राष्ट्रिय परिचय पत्रको अभियान सुरु भएको छ । जिल्लामा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागद्धारा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम थालेको छ ।
कोभिडको कारण रोकिएको विवरण संकलनको काम अहिले गुल्मी दरवार र धुर्कोट गाउँपालिका सवै वडामा सुरु भएको छ ।
राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि कम्प्युटर अपरेटर र रुजु गर्ने अधिकारीलाई विवरण संकलन सम्बन्धी तालिम दिएर वडाहरुमा खटाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
उनले गत चैतबाटै विवरण संकलनको काम गर्ने योजना बनाए पनि कोभिडको कारण रोकिएको बताए । अहिले सौहार्दपूर्ण वातावरणमा विवरण संकलनको काम भएको शर्माको भनाई छ ।
गुल्मी दरवार गाउँपालिकामा कार्तिक २३ र धुर्कोट गाउँपालिकामा कार्तिक २५ गतेबाट विवरण संकलन अभियान सुरु भएको छ ।
दुवै गाउँपालिकामा ५८ जना दर्ता अपरेटर र ३४ जना रुजु अधिकारीले विवरण संकलनको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले बताए । अहिलेसम्म करिव १५ हजार नागरिकले आफ्नो विवरण संकलन गरेका छन् ।
जिल्लाभर मतदाता संख्याको आधारमा एक लाख ९६ हजार नागरिककोे व्यक्तिगत विवरण संकलन गर्ने अपेक्षा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको रहेको पन्थीले बताए ।
राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु–उपयोगी प्रमाणपत्र हो ।
गुल्मीमा ०७६ साउनबाट यो कार्यक्रम लागु भएको हो । जिल्ला प्रशासन कार्यालयमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले आफ्नो विवरण संकलन गरेर राष्ट्रिय परिचय पत्र विवरण संकलनको अभियान शुभारम्भ गरेका थिए ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ०७६ साउनदेखिनै स्थायी स्टेशन स्थापना गरेर विवरण संकलनको काम भइरहेको छ ।
अहिले स्थानीय तहसंगको सहयोग र समन्वयमा गाउँ–गाउँमा पनि विवरण विवरण संकलनको काम भइरहेको छ ।
कोभिडले गाउँमा नागरिकको बाक्लो उपस्थिति छ ।
स्थानीय तहको तर्फबाट सवै सहयोग र समन्वय भइरहेको गुल्मी दरवार गाउँपालिका प्रमुख अशोक कुमार थापाले जानकारी दिए । उनले सुरुमा केहि प्राविधिक समस्या देखिएकाले तोकिएको समयमा सवैको विवरण संकलन गर्न नसके थप समय माग गरिने बताए ।