बुटवल–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको स्टिङ अपरेसनमा माथिल्लो तहका कर्मचारी रंगेहात पक्राउ हुने क्रम बढेको छ ।
घुस लेनदेनमा विगतमा तल्ला तहका कर्मचारीहरु धेरै पक्राउ पर्ने गरेकोमा पछिल्लो समय उपसचिव स्तरका कार्यालय प्रमुखहरु पनि समातिने क्रम बढेको हो ।
अख्तियारको बुटवल कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा लुम्बिनी प्रदेशबाट मात्र ३ जना राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारी पक्राउ परेका छन् ।
अख्तियारले गत साउन २० गते राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई पक्राउ गरेको थियो । व्यवसायीसँग २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा राना पक्राउ परेका थिए ।
त्यस्तै बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोदकुमार भट्टराइलाई साउन १९ गते अख्तियारले पक्राउ गरेको थियो ।
श्रोत नखुलेको रकम सहित भट्टराईसँग निकुन्जका सहायक संरक्षण अधिकृत विष्णु रोकाया पक्राउ परेका थिए ।
यस्तै पूर्वाधार विकास कार्यालय बाँकेका मनिषकुमार अर्याल पनि श्रोत नखुलेको रकम सहित भदौ १४ गते अख्तियारको फन्दामा परेका थिए ।
कार्यालय प्रमुखहरु समातिने क्रम अघिल्लो वर्ष भन्दा यो वर्ष बढेको छ । २०७७/७८को आर्थिक वर्षभरिमा लुम्बिनी ३ जना उपसचिवका कर्मचारी पक्राउ परेका थिए ।
यस वर्ष भने पहिलो ४ महिनामै ३ उपसचिव तहका कर्मचारी पक्राउ परेका हुन् । अघिल्लो आर्थिक वर्षमा अधिकृत स्तरका कर्मचारी १३ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा अहिलेसम्म अधिकृत स्तरका कर्मचारी १ जना मात्र पक्राउ परेका छन् ।
स्टिङ अपरेसनमा चालु आर्थिक वर्षमा पक्राउ परेका अरु पद र दर्जा मध्ये एक जना वडाध्यक्ष, एक जना नायब सुब्बा तहका कर्मचारी, ३ जना श्रेणीविहिन कर्मचारी र बाँकी ४ जना कर्मचारी बाहेकका हुन् ।
स्थानीय तह विरुद्धका उजुरीको चाङ
अख्तियारको प्रगति विवरण चालु आर्थिक वर्षको चार महिनामा पनि स्थानीय तहसँग सम्बन्धित सबैभन्दा धेरै उजुरी परेको छ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दर्ता भएका गरि स्थानिय तहसँग सम्बन्धित ३ सय २९ वटा उजुरी अख्तियार बुटवल कार्यालयमा दर्ता भएको छ ।
जसमा ७५ वटा फस्र्योट भइसकेका छन् । स्थानीय तहपछि शिक्षासँग सम्बन्धित १ सय ५२ वटा उजुरी दर्ता भएको छ ।
त्यसैगरी भूमि सम्बन्धी ६९, वनसम्बन्धी ३८, भौतिक पूर्वाधार तर्फको १९, कृषि सम्बन्धी २८, स्वास्थ्यको १७, उर्जा र सिचाइँको ४०, खानेपानी तथा शहरी विकासको ६ र अन्य ८१ उजुरी दर्ता भएको छ ।
कुल ७ सय ५४ वटा उजुरी मध्ये ७ सय १३ वटा फस्र्योट भएको अख्तियार बुटवल कार्यालयले चौमासिक प्रगती विवरणमा उल्लेख छ ।
जिल्लागत रुपमा हेर्दा अख्तियार बुटवल कार्यालयमा सबै भन्दा बढी रुपन्देहीबाट उजुरी दार्ता भएको छ ।
चालु आर्थिक वर्ष र गत आर्थिक वर्षबाट सरी आएका गरेर यो वर्ष २ सय ४० वटा उजुरी रुपन्देहीबाट दर्ता भएको छ ।
कपिलवस्तुबाट १ सय ४१ र नवलपरासी पश्चिममा ९४ वटा उजुरी दर्ता भएको छ । प्रदेशको दाङ र बर्दियाबाट यो वर्ष हालसम्म कुनै उजुरी दर्ता नभएको अख्तियारले जनाएको छ ।