गुल्मी–गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोककी ३३ वर्षीया पार्वता पन्थी(नेपाली) नागरिकता पाउन चार वर्ष संर्घष गरिन्।
श्रीमानसंगको कानुनी लडाई अझै सकिएको छैन। तर, एउटा संघर्षमा सफल भएकी छन्।
उनले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सोमबार नागरिकता पाएकी छन्। स्थानीय सरकार प्रमुखको तर्फबाट धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल साक्षी बसेपछि प्रशासनले अदालतको प्रमाणको आधारमा नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए।
पार्वताले अदालतबाट फैसला भएपनि नागरिकता नपाएको विषयलाई विभिन्न मिडियाहरुले उठाएका थिए।
०७३ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारीले साक्षी बस्ने श्रीमान वा परिवारको मान्छे नभएपछि फैसलाले मात्रै नागरिकता दिएका थिएनन्।
तीन वर्षसम्म कुनै काम कारबाही भएको थिएन। पार्वतालाई अब अदालतले फैसला गरेका अंशबण्डासहित सरकारी सेवा सुविधा र अरु कानुनी उपचारको लागि बाटो खुल्ला भएको छ।
धुर्कोट गाउँपालिका प्रमुख पोख्रेलले पनि अदालतको प्रमाण हुँदाहुँदै साक्षीको कारण कोही कसैले बर्षौ अन्याय सहेर बस्न नपरोस् भनेर सहजीकरण गरेको बताए। उनले आफुहरुको ध्यानाकृष्ट गराएर पीडितलाई न्यायको पहुँचमा ल्याउने मिडिया र मानव अधिकारकर्मीहरु प्रति आभार प्रकट गरे।
पार्वतालाई नागरिकता दिलाउन राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी, दलित अधिकारकर्मी गणेश विश्वकर्मा, लुम्बिनी टाइम्स तथा इन्सेककर्मी टोपलाल अर्याल लगायत पनि साक्षी बसेका छन्।
०६० सालमा पार्वता र स्थानीय ममराज पन्थीबिचको सम्बन्धबाट बच्चा जन्मिए पछि अहिलेसम्मको अवस्था सिर्जना भएको हो।
पार्वताले ०७३ बैशाख ९ गते जिल्ला अदालतमा अंशवण्डा र माना चामल मुद्धा दर्ता गरेकी थिइन्।
०७३ मंसिर १२ गते जिल्ला अदालत गुल्मीका न्यायधिश मातृका प्रसाद मरासेनीले पार्वता ममराजकै पत्नी र उनीहरुकै छोरा सरोज भएको फैसला गरे।
फैसलामा ममराजबाट मासिक ३ हजार खर्च भर्ने उल्लेख छ। तर, ममराजले कुनै वास्था गरेनन्। जसका कारण अदालतले ममराज पन्थीबाट पार्वतालाई अंशवण्डाको अधिकारसहित खाना खर्च बापत एक रोपनी जग्गा उपलब्ध गराउने फैसला समेत गर्यो।
तर नागरिकता नभएका कारण लालपुर्जा नहुँदा भोकचलन गर्ने अवस्था थिएन। दलित अधिकारकर्मी गणेश विश्वकर्माले ठूलो सफलता प्राप्त गरिएको बताउँदै सहयोग गर्ने सवैलाई धन्यवाद दिए।