बुटवल–बुटवलमा शुक्रबार राती भीषण वर्षा भयो। तिनाउको बहावले खतराको तह पार गर्यो। किनारमा रहेकाहरु रातभर जागाराम बसे। पूराना पुस्ताका धेरैलाई यो वर्षा र तिनाउको बाढीले ३९ वर्ष अघिको क्षणको पुनः सम्झना गराएको छ।
३८ सालको बाढी भन्नेबित्तिकै बुटवलमा तहसनहस पारेको दिनलाई सम्झिने गरिन्छ। पाका पुस्ताले चर्चा गर्ने गरेको ३८ सालको बाढी असोज महिनामै आएको थियो।
त्यसबेला २ दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। बिहान ७ बजे वर्षाको बेग ठूलो भयो। तिनाउ गाउँपालिका ३ दोभानमा बस्ने मतिराम लम्साल अगाडिको खोलामा आएको बाढी हेरिरहेका थिए।
राजमार्ग तर्फ बसेका उनको आँखा तिनाउ खोलाको एउटा थुम्को तिर पुग्यो। जहाँ ७ जना जति छाता ओडेर बसेका थिए। थुम्कोमा बसेकाहरुलाई दायाँबायाँबाट बाढीले घेरिहाल्यो। कतै निस्कने ठाउँ थिएन।
‘खोलाको बहाव ठूलो भएर आयो, बाँच्ने आश नभएपछि उनीहरुले ओढिरहेको छाता फाले र हामी गयौं भनेजसरी हात हल्लाए’–प्रत्यक्षदर्शी मतिलाल भन्छन्–‘उहाँहरुलाई बाढीले लगिहाल्यो, हामीसँग बचाउने कुनै उपाय थिएन।’
त्यो थियो–२०३८ साल असोज १३ गते घटस्थापनाको दिन। एक्कासी आएको ठूलो बाढीले दोभान क्षेत्रमा अरुले पनि ज्यान गुमाए।
‘खुर्साने भन्ने ठाउँबाट ६ र जामुनेबाट ६ जना गरी १२ जनालाई बगाएछ’–मतिलालले भने–‘तिनाउकोे बहाव माथिसम्म आएर वारको पार ढाकेर समुद्र जस्तो देखिएको थियो, बाढीले धेरै ठाउँमा कटान ग¥यो, कतिका खेतबारी बगायो।’
त्यसबेला झोलुंगे पुल समेत बगाएपछि दोभानबासीलाई वारपार गर्न धेरै समयसम्म समस्या भएको थियो। वारीबाट पारी जान कि बुटवलबाट नुवाकोट हुँदै जानुपर्दथ्यो कि झुम्सा गएर जंगलै जंगल जानुपर्ने मतिलालले बताए।
तिनाउको बाढीले बुटवलमा पनि धेरै ठाउँमा क्षति पुर्यायो। वर्षा भइरहँदाको त्यो क्षण बुटवलका पूर्व उपमेयर विमलबहादुर शाक्य यसरी सम्झिन्छन्–‘पुल्चोकको दुर्गा मन्दिरमा परिसरमा बसेर तिनाउ खोलातिर हेरिरहेको थिएँ, बिहान ९ बजेतिर खोला एक्कासी उर्लेर आयो, हेर्दाहेर्दै पानीको सतह माथि नै आइपुग्यो।’
एकछिन खोलातिर नजर लगाएर शाक्य आफ्नो घरतिर लागे। ‘घर पुग्दा त घरभित्र पानी भरिभराउ थियो, एक जना दाइले पानीको लक्षण मैले राम्रो देखेको छैन, अब नगद जिन्सी के के छ पोको पारेर हिँडौं भन्नुभयो’–उनले सम्झे–‘जे जति सकिन्छ ती सामान पोको पार्यौं, परिवारहरुलाई गाडीमा राखेर बुटवल क्याम्पसमा पुर्यायौं। उनीहरुलाई पठाउने बित्तिकै अहिलेको ब्रम्हकुमारी विश्वविद्यालयको कार्यालयभन्दा माथिबाट तिनाउको पानी पस्यो।’ एकैछिनमा सारा बस्ती डुबानमा परिणत भएको शाक्यले बताए।
बाढीले शाक्यको घर पछाडिको पर्खाल पनि भत्कायो र भान्छाकोठामा पनि क्षति पुर्यायो। ‘खोला किनारमा रहेका पर्खालहरु भत्के, मेरो भान्छा भत्कियो, मेरो घरमा ओभानो भनेको अगाडिको कोठा मात्र थियो, अरु सबै पानी–पानी थियो’–उनले भने–‘पानी सुकेपछि पर्खाल भत्केको ठाउँमा माछा नै माछा थिए, बाढीले ल्याएको लेदो हटाउन दस बाह्र दिनसम्म पनि सकिएन।’
बाढीले आसपासका अरु घरका भाँडाकुँडा लगायतका सामान बगाएका थिए। अहिलेको हाजबजारलगायत आसपासका सबै ठाउँमा डुबान थियो।
‘अमरपथका मान्छे टेलिकमको कार्यालय हुँदै पुल्चोकतिर आउन सक्ने अवस्था थिएन, अञ्चलाधीशको कार्यालयतिरबाट घुमेर आए’–शाक्यले भने।
बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल लाकौलले तिनाउको बाढीले अमरपथ क्षेत्र जलासय जस्तै देखिएको सुनाए। ‘घाँटीघाँटीसम्म पानी भयो, अग्निकुमार लगायत व्यवसायीको भागाभाग भयो’–उनले भने–‘अमरपथ र राममन्दिरलाइनका सबै दोकानमा पानी पसेको थियो, पछि पानी सुकेपछि हिलैहिलो थियो।’
०३८ सालको बाढीले तिनाउ किनारको बस्ती नै बगायो। नेपालगञ्जरोडबाट तिनाउ किनार हुँदै हाटबजारतर्फ जाने ठाउँमा स–साना बुकुरा घरहरु थिए। जसलाई दाउरे टोल भनिन्थ्यो। तिनाउको बाढीले दाउरे टोललाई बगाएको थियो।
‘त्यसबेला म बुटवल जेसिजको अध्यक्ष थिएँ, जेसिजको तर्फबाट हामी पनि उद्धारमा खटियौं’– लाकोलले भने–‘प्रहरीहरुको सहयोगमा बाढीमा फसेका २०–२५ जनालाई बचायौं, धेरैलाई बगायो, पारी गणेशथानतिरका पनि केही घर बगायो।’
बाढीबाट विस्थापित भएकाहरु कसैलाई कान्ति स्कुलमा र कसैलाई संगमपथमा रहेको तत्कालीन उद्योग वाणिज्य संघको भवनमा राखेको उनले बताए। बाढी पसेपछि अहिलेको देवीनगरको चौपारीदेखि योगीकुटी सडकमा त्यसबेला खोला नै बगेको हाल बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री बताउँछन्।
‘देवीनगरको चौपारीदेखि होराइजन चोक, कालिकानगर हुँदै योगीकुटीसम्म जताततै डुबान थियो’–उनले भने–‘त्यसबेला कालिकानगर क्षेत्रमा खेती थियो, राजमार्ग आसपासमा मात्र अलिअलि घरहरु थिए।’
खेतमा धेरैका भाँडाकुँडा, लत्ताकपडा र व्यापारीका पैसा राख्ने सेफ समेत फेला परेको क्षेत्री सम्झन्छन्। बुटवलको मैनाबगर र मजुवा क्षेत्रमा किसानका खेत र कतैकतै घर पनि थिए। बाढीले त्यो क्षेत्रलाई बगर बनाइदियो।
०३८ सालको बाढीमा कति मानिसको मृत्यु भयो भन्ने एकिन तथ्यांक त छैन। ‘तिनाउका खोल्साखोल्सीमा मान्छेहरुका लास भेटिएका थिए। सय जनाको हाराहारीमा मान्छे मरे भनेर त्यतिखेर भन्थे’–वडाध्यक्ष क्षेत्रीले भने।
योगीकुटीदेखि मगरघाट पारीको रानीगञ्जको नयाँ बस्ती क्षेत्रमा जताततै डुवान थियो। तिनाउको बाढी मोतीपुर क्षेत्रमा पनि पस्यो।
‘रानीगञ्जको नयाँबस्ती पुरै डुबान थियो। अहिले बेथरीतर्फ जाने सडकको तपाहाको नाम निसानै थिएन’–मोतीपुरका पूर्व प्रधानपञ्च भीमप्रसाद न्यौपानेले भन्छन्–‘हामी पनि घरमा नबसेर मोतिपुर स्कुलको माथिल्लो तल्लामा गएर बसेका थियौं। गाउँका अरु पनि कोही कता कोही कता गएर बसे।’
बाढी पसेर त्यस वर्ष धानबालीमा पनि ठूलो क्षति पुगेको उनले बताए। कतिले त धान स्याहार्नै पाएनन्। केहीले टुप्पाको बालाबाला मात्र टिपेर चित्त बुझाए। त्यसबेला बेलबास, नयाँगाउँ देखि तामनगर क्षेत्रमा पनि धेरैका घरखेत बगायो। बाढीबाट विस्थापित भएकाहरुलाई नवपरासीको बर्दघाट क्षेत्रमा पुनर्बासको व्यवस्था गरिएको थियो।
२०३८ सालमा झुम्सा भन्दामाथि थुनिएको तिनाउ एक्कासी फुटेर बाढी आएको बताउने गरिन्छ। बुटवलमा २०३८ सालसँगै २०२७ सालमा आएको बाढीले पनि बुटवल आसपासमा ठूलो क्षति पुर्याएको थियो।