बुटवल-देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। यो क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।
भारतको मध्यप्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसकै प्रभावले अस्ती बेलुकीदेखि नै झरी परेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
उनका अनुसार आज र भोलि देशभरिकै मौसम एकैछिन खुलेपनि फेरि पानी पर्नेछ। अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी परिरहेको छ भने अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने तथा सबै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मानन्धरको पूर्वानुमान छ।
पर्सि दिउँसोसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने र केही ठाउँमा निकै ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम छ।
लगातारको वर्षाका कारण तिनाउ, नारायणीलगायतका नदीमा जल-सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
रुपन्देहीको तिनाउ नदीमा बाढी आएर जलसतहले खतरा तह पार गरेको छ। तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको छ । त्यस्तै नारायणी नदीमा बाढी आएको छ ।
देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको साथै बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ
पर्सीदेखि पानी पर्ने क्रम कम हुँदै जाने
आज र भोलि निरन्तर वर्षा भएपनि पर्सी शनिबारदेखि मौसममा सुधार आउँदै जाने मौसमविदको पूर्वानुमान छ।
पर्सी शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने पनि उनले बताइन्।
तर हल्कादेखि सामान्य वर्षा भने अझै केही दिन हुने संभावना छ। शनिबार पनि प्रदेश १ र २ का थोरै ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् मानन्धरको भनाइ छ।
यो वर्ष मनसुन सकिने बेलामा झन् सक्रिय भएको छ। सामान्यतया: सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ।