बुटवल–विष्णुहरि आचार्य बिहानै ५ बजे उठ्छन्। सामान्यतया उनी ६ बजे उठ्थे। जब कोरोना भाइरसको महामारी शुरु भयो र संक्रमितहरु आइसोलेशनमा राखिए, उनी ५ बजे उठ्न थाले।
उनलाई सूर्योदय हेर्न मन पर्छ। ‘सूर्योदय हेर्दा शरीरमा एकखालको उर्जा प्रवाह हुन्छ’–उनी भन्छन्।
उनी योगसाधक हुन्। पेशाले उनी सरकारी जागिरे हुन्। लुम्बिनी आयुर्वेदिक चिकित्सालयमा कार्यरत छन्।
तर, महामारीले उनको दैनिकी बदलिएको छ। बिहानै उठेर उनी कोरोना भाइरसबाट संक्रमण भएका व्यक्तिहरुको जीवनमा उर्जा थपिदिन आइसोलेशन पुग्छन्।
आइसोलशेनमा उनको प्रतीक्षा भइरहेको हुन्छ। उनलाई साथ दिन प्राय: बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल उपमहानगरपालिका योजना आयोगका सदस्य सचिव मेघराज भट्टराई र आइसोलेशनमा रहेका प्रहरी र अरु केही सहयोगीहरु आइपुग्छन्। कहिले जनप्रतिनिधि, कहिले स्वास्थ्यकर्मी त कहिले सामाजिक संस्थाहरुका व्यक्ति पनि पुगेका हुन्छन्।
संक्रमितहरु शरीरमा थप उर्जा भर्न चाहन्छन्, ताकि उनीहरु कमजोर नहोउन्। उनीहरुलाई अस्पतालको पट्यारलाग्दो बसाइ बस्नुछैन। त्यसैले सकेसम्म कुनै लक्षण नदेखिउन् भन्नेमै बढी चासो दिन्छन् उनीहरु।
बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा ७० जना संक्रमित छन्। दिनदिनै घटबढ भइरहन्छन्। बालबच्चादेखि, युवा, प्रौढसम्मका व्यक्ति उनलाई पर्खेर बसेका हुन्छन्।
एन्फा एकेडेमीको पश्चिमतिरको गेट खोलेर नमस्कार गर्दै उनी आइसोलेशन परिसर प्रवेश गर्दा संक्रमितहरुको मनमा उत्साह थपिन्छ।
आइसालेशनको अवधि पूरा गरेर घर फर्किएका सैनामैनाका विक्रम केसी भन्छन्–‘बिहानै योग र व्यायाम गर्दा हामीहरु दिनभर नै फुर्तिला हुन्थ्यौं, उहाँको दिनदिनैको अभ्यासले एउटा उर्जा थप्थ्यो।’
योग, प्राणायाम, ध्यानका माध्यमबाट तनाब, चिन्ता र चञ्चल भइरहने मनलाई एकत्रित गर्दै स्फुर्ति ल्याउन आचार्यले सघाउँछन्।
‘संक्रमित भइसकेपछि मानिसमा तनाब हुन्छ, चिन्ता हुन्छ, दिनभर काम हुँदैन, दिउसोमा सुत्यो भने अरु तनाब हुन्छ, उनी भन्छन्–त्यही तनाब कसरी व्यवस्थापन गर्ने भनेर उहाँहरुलाई केही उपायहरु बताउने र योग ध्यान गराउनेमै बिहानको एकडेढ घण्टा बित्छ।’
उनी संक्रमितहरुसँग पनि बेलाबेलामा भलाकुसारी गर्छन्। ‘एन्फाकै आइसालेशनमा हो, एकजना बुटवलकै ७५ वर्षको बुवा आउनुभएको थियो, उहाँ शुरुमा आउँदा एकदमै हतास मानसिकता लिएर आउनुभयो, म त मर्छु कि क्या हो भन्ने कुरा गर्नुहुन्थ्यो’–उनको हतास मानसिकतालाई उत्साह थप्ने उनले गरेका कोशिशबारे भन्छन्–मैले उहाँसँग हरेक दिनजसो कुरा गर्न थालेँ, उहाँलाई कोरोना लागेको छ भन्ने कुरा बिर्साउने प्रयास गर्न थालेँ, केही उर्जा भर्ने प्रयास गरेँ, त्यसपछि उहाँ बिस्तारै तंग्रिदै जानुभयो, पछि एकदमै तन्दुरुस्त भएर घर फर्किनुभयो।’
यसरी आफ्नो प्रयासले अरुमा देखेको खुशीले उनी रमाउँछन्। ‘मैले एकछिनमा गरेको त्यो प्रयासले मानिसमा म जिउँछु, म अरु धेरै बाँच्न सक्छु भन्ने जुन साहस बटुल्छ त्यसले मलाई औधी खुशी लाग्छ’–यसो भनिरहँदा उनी खुशी भएर मुस्कुराएका देखिन्छन्।
यसरी शुरु भयो क्वारेन्टिन र आइसोलेशनमा योग
नेपालमा भर्खर कोरोना भाइरसको संक्रमण देखा पर्न थालेको थियो। काठमाडौंमा १ जनामा संक्रमण पुष्टि हुँदा बुटवल, भैरहवाजस्ता चहलपहल हुने बजारहरु सुनसान हुनेतर्फ गइरहेका थिए। शहरमा भीड घट्दै थियो, त्रास बढ्दै थियो।
त्राससँगै भारतबाट आएर क्वारेन्टिनमा बस्नेहरुको संख्या पनि बढ्दै थियो। वैशाखको १८ गतेतिर हो। विष्णुहरि र अरु केही साथीहरु मिलेर क्वारेन्टिनहरुमा बसेकाहरुलाई योग र ध्यान सिकाउने र केही उर्जा दिने उदेश्य लिएर कोटहीमाइ गए।
कोटहीमाइको एक विद्यालयमा भारतबाट आएकाहरु बसेका थिए। ३० जनाजति त्यहाँ बसेका थिए। ‘हामी त्यहाँ जाँदा त्यहाँ रहेकाहरुको आँखामा डर देखिन्थ्यो, भारतबाट आएका भनेपछि हामीलाई पनि डर लागिरहेको थियो, उनीहरुलाई बोलायौं, योग, ध्यानका बारेमा बुझायौं, उनी भन्छन्–उनीहरुलाई केही सिकाउँ, उर्जा दिउँ भनेर गएका हामीमा संक्रमण हुनसक्छ भन्ने डर थियो।’
शुरुमै योग र ध्यान गर्न उनीहरुले जाँगर देखाएनन्। अनि भजन र गीत लगाएर नाच्न लगाईयो। ‘दुरी कायम गरेरै बसेका थियौं, भजन लगाएर शुरुमा म आफै नाँचे, म नाचेको देखेपछि अरुपनि नाच्न थाले,–उनी अनुभव सुनाउँछन्।
उनीहरु त्यहाँबाट फर्किए। डराईडराई गएका उनीहरु डराईडराई फर्किए। तरपनि क्वारेन्टिनमा बस्नेहरुको मनमा केही उर्जा थपेकोमा एकखालको खुशी थपिएको थियो। त्यहाँबाट फर्किएको अर्को दिन थाहा पाए–त्यहीँमध्येका एकजनामा कोरोना संक्रमण पुष्टि भयो।
‘त्यो सुन्दा त एकछिन झट्का लागेजस्तै भयो, हामी गएकै ठाउँका व्यक्तिलाई संक्रमण देखियो, –उनले त्यसबेलाको अनुभव सुनाए–हामीले दुरी कायम त गरेका थियौं, तर डर लाग्यो, विस्तारै डर कम हुँदै गयो।’
डरत्रास कायमै रहेपनि उनको योग, साधना र ध्यान गराउने, उर्जा थप्ने, साहस बटुल्न सघाउने कुराकानी गर्ने अभियान निरन्तर अघि बढ्यो। यसबीचको ६ महिनामा उनी रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, मर्चवारीमाई, समरीमाई, मायादेवी, गैडहवा, शुद्धोधन, कोटहीमाईका क्वारेन्टिन र आइसोलेशनहरुमा पुगेर ३ हजारभन्दा बढीलाई योग, ध्यानका माध्यमबाट कसरी तनाब व्यवस्थापन गर्ने र चिन्ता हटाउने, साहस बटुल्ने भनेर प्रशिक्षण दिए।
उनको यो अभियान जारी छ। ‘संक्रमण पुष्टि भएकै व्यक्तिहरुका बीचमा पुगेर खुलस्त भएर कुरा गर्नु र उनीहरुलाई उत्साहित बनाउने कुरा चुनौतीपूर्ण नै हो, तर म यसमा अभ्यस्त भइसकेँ, यसलाई निरन्तरता दिन्छु’–उनले भने।
अरुको तनाब घटाउन खोज्दा घरमा बढ्यो तनाब
आचार्य अरुको तनाब हटाउन दिनदिनै आइसालेशन र क्वारेन्टिनहरुमा खटिएका थिए। दुरी र मापदण्ड पूरा गरेपनि त्यो उच्च जोखिमको काम थियो। तरपनि उनी निरन्तर लागिरहे।
उनको लगावप्रति घरपरिवार र आफन्तलाई खुशी नै थियो। तर उनी जहाँ जसरी गईरहेका छन् त्यसले घरपरिवार र आफन्तमा तनाब थपिदियो।
‘आमा, दाईदिदी, श्रीमतीदेखि भान्जाभान्जी र अरु आफन्तहरुले पनि त्यसरी जाँदा संक्रमण हुनसक्नेमा सचेत गराईरहनुभयो, उहाँहरुलाई म पनि संक्रमित हुन्छु कि भन्ने चिन्ता थियो, त्यसले उहाँहरुमा तनाब उत्पन्न गर्यो’–उनी बताउँछन्–सबैको करकापमा परेर मैले १५–१६ दिन अघि पीसीआर परीक्षण गराएँ।’
पीसीआर परीक्षण गराउन उनले स्वाब दिएको रात उनलाई निद्रा परेन। त्यसअघि कैयौंपटक क्वारेन्टिन र आइसोलेशन पुगेका उनलाई स्वाब दिएपछि डर लाग्यो। ‘त्यसअघि सावधानी त अपनाएको थिएँ, तर त्यसरी डर नै लागेको थिएन, राती निद्रा नै लागेन, घरमा बच्चा, श्रीमती, आमा र आफन्तहरु सम्झिएँ, त्यसअघि आफन्तहरुसँग पनि भेट भएको थियो, त्यो झलझली आयो–उनी भन्छन्–त्यसपछि रिपोर्ट आयो, रिपोर्ट नेगेटिभ आयो, अनि बल्ल ढुक्क भएँ।’
रिपोर्ट नेगेटिभ आएपछि घरपरिवार र आफन्तहरु पनि शान्त भए।
के सिकाउँछन् उनले ?
उनी योगगुरु हुन्। उनले योगकै कुराहरु सिकाउँछन्। ‘कोरोना भाइरसका कारण मानिसको मनमा धेरै कुरा खेल्छन्, मन चञ्चल हुन्छ, उनी भन्छन्–मन मुढी, चञ्चल भएर छियाछिया भएको हुनसक्छ, यो योग साधना, ध्यान, प्राणायाम, आसनद्वारा शरीर आत्मालाई मनसँग जोडेर केन्द्रित गरेपछि मानिसले स्फुर्ति हासिल गर्नसक्छ।’
उनका अनुसार मानिसको आत्मा र मन सँगै हुनुपर्छ। उनी थप्छन्–‘दुईजनाले कुराकानी गरिरहेका छन्, एकजनाको कुरा अर्कोले सुनिरहेको छ, तर उसको मन त्यो कुरा भन्दा अन्तै, अरु कुरामा गइरहेको छ, मान्छेको शरीर एकठाउँमा छ, एउटा परिवेशमा छ, तर मन भने अर्कै कुरामा अन्तै गइरहेको छ भने मानिस शान्त हुँदैन, उसले गरिरहेको काम पनि पूर्ण र सफल हुनसक्दैन।’
त्यसरी दुईतिर गएका शरीर र आत्मालाई एउटै ठाउँमा ल्याएर ध्यान केन्द्रित गरेर आनन्द लिनसकिने उनी बताउँछन्।
उनले यी कुरासँगै ध्यान र प्राणायाम गराउँछन्। गीत र भजनमा नाच्छन् र नचाउँछन्।
‘जब मानिसलाई समस्या पर्छ, तब योगले मानिसलाई आत्मबल बढाउन मदत गर्छ, योगले मानिसलाई रोग प्रतिरोध क्षमता बढाउन पनि मदत गर्छ’–उनी भन्छन्–आत्मबल बढ्नु भनेकै रोगप्रतिरोध क्षमता बढ्नु हो।’
आयूर्वेदले जाने शक्ति बढाउँछ, नजाने विष
उनी भन्छन्–‘आयूर्वेदिक जडिबुटीहरुको उचित मात्रामा व्यवस्थित तरिकाले सेवन गरे शक्ति बढाउँछ।’
अहिले चर्चामा आइरहेका चिनीलहरो, अस्वगन्धा चुर्ण, च्यवनप्रास, मुलेठी चूर्ण, त्रिकटुको मात्रा मिलाएर सेवन गरे रोगप्रतिरोध क्षमता बढाउने उनी बताउँछन्। तर यी र यस्तै अरु आयूर्वेदिक जडिबुटीको मात्रा मिलाएर नखाए यिनले विषको रुप लिनसक्ने उनी बताउँछन्।
‘हामीकहाँ हुने वनस्पतिबाटै औषधि बन्छ र यहीँका वनस्पतिमा विष पनि छ, जंगली च्याउ चिन्न सकिएन भने मृत्यु हुनसक्छ, त्यस्तै आयूर्वेदमा पनि त्यसको फाईदा चिनेर मात्रा मिलाएर सेवन गरिएन भने विषको रुप लिनसक्छ,–उनले भने।
उनका अनुसार प्रत्येकजसो जिल्लामा आयूर्वेदका कार्यालयहरु रहेकाले ती कार्यालयमा सम्पर्क गरेर परामर्शका आधारमा आयूर्वेदिक जडिबुटी वा औषधिहरुको सेवन गर्नुपर्छ।
योगसाधनाको लत
अर्घाखाँचीको भूमिकास्थानमा जन्मिएका उनी युवावस्थादेखि नै योगमा चासो राख्थे। आयुर्वेदमा हेल्थ असिस्टेन्ट गरेका उनले बुटवलमै आयुर्वेद औषधि पसल खोले। यसबीचमा पतञ्जली योगसँग नजिक भए। भारतको हरिद्वारमा पुगेर योग प्रशिक्षण लिए।
प्रशिक्षण लिएर फर्किएपछि बुटवल कालिकापथमा मन्दिरमा शुल्क तिरेर योग गराउन शुरु गरे। २०६४ सालतिर हो, उनीसहित योगमा चासो राख्नेहरु मिलेर पतञ्जली योग समिति नेपाल नामको संस्था खोले। उनी सचिव भए। उनी साबिकको अञ्चल समितिको अध्यक्ष भए।
अहिले प्रदेशको सदस्य र अन्नपूर्ण आश्रम नेपालको प्रदेश संयोजक छन्। नेपाल आयूर्वेद स्वास्थ्यकर्मी समाजको प्रदेश संयोजक पनि हुन् उनी। यहीबीचमा लोकसेवा लडेर उनले ६ वर्षअघि लुम्बिनी आयूर्वेद चिकित्सालयमा कार्यरत छन्।
‘म अब जीवनभर नै योगसाधना र आयूर्वेदकै क्षेत्रमा लाग्छु, मैले यसलाई नै आफ्नो करिअर बनाएँ, योगको अभियानलाई नै निरन्तरता दिन्छु’–उनी भन्छन्।