भैरहवा–रुपन्देहीको कर्णालीका नामले चिनिन्छ मर्चवार। केही अघिसम्म कर्णालीको अर्थ विकासमा पछि परेको भनिन्थ्यो। विकासमा पछि परेको मर्चवार कोरोना महामारीले थलियो। सबैभन्दा शुरुमा मर्चवार क्षेत्रकै बासिन्दामा संक्रमण देखियो।
तर, मर्चवार विस्तारै उठ्दैछ। गाउँलेहरु सामान्य हिसाबले दैनिकी शुरु गर्ने तरखरमा छन्। यहाँ बजार र भीडभाड त थिएन, तर हाटबजार र केही पसलहरुको भीड लकडाउनले रोकेको थियो।
जिल्ला प्रशासन कार्यालयले भदौ २१ गतेदेखि लकडाउन खुकुलो बनाएसँगै मर्चवारका चोक–चोकमा महामारीअघिकै माहोल देखिन्छ।
‘लकडाउनमा प्रशासनले कडाइ गरेपनि अहिले कुनै रोकतोक छैन, अवस्था सामान्य छ, नियमित पसलहरु खुलिरहेका छन्’– पर्सहवाका सीतारामले भने।
व्यापार व्यवसाय पुरानै लयमा फर्किने कोशिश गर्दैछ। बजारमा कुनै पनि प्रकारको बन्देज छैन। विद्यालय, सार्वजनिक यातायातबाहेक सबै प्रकारका पसल र सेवाहरु खुलेका छन्।
यहाँ कोरोना भाइरसको भन्दा प्रशासनको डर थियो शुरुमा। जब सरकारी निकायले भाइरसबारे बुझाए, त्यसपछि स्थानीयले मास्क लगाउन थालेका थिए। तर फेरि मास्क लगाउने र भौतिक दुरी पालना भएको देखिदैन।
कुनै सचेतना अपनाएको देखिदैन। अवस्था सामान्य जस्तै छ, अधिकांश मानिसहरु कृषि कर्ममा नै व्यस्त देखिन्छन्।
सम्मरीमाइको मन्झरियामा रहेको संकलन केन्द्रमा दैनिक खरिद बिक्री भइरहेको छ। बजार लागिरहेको छ। पर्सहवा, मझगावा, रायपुर, अमवा, थुम्हवा, रोइनिहवा, बगौलीलगायत चौराहाको अवस्था सामान्य भइसकेको छ।
रुपन्देहीमा दैनिक ३०–४० जना संक्रमित थपिएपनि अधिकांश शहरी र बाक्लो बस्ती क्षेत्रका हुन्।
तर जोखिम उत्तिकै छ। अहिलेपनि महामारीको जोखिम कायमै रहेकाले सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालका डा. सुदर्शन थापा लापरबाही गरेमा अवस्था खतरातर्फ जाने बताउँछन्।
‘यो समय सुरक्षित हुने समय हो, अहिले लकडाउन केही खुकुलो भयो भनेर सुरक्षाका मापदण्ड पालना नगर्ने, मास्क नलगाउने र मनपरी गर्ने गरेमा संक्रमण अरु धेरै फैलिनसक्छ, उनले भने–त्यो जोखिम कसैले पनि नलिन म अनुरोध गर्छु।’