दाङ–धान पसाउने बेला थियो। खेतको आलीमा गोडेर राखिएको घाँस थियो। घाँस उठाएर फाल्ने बेला श्यामनारायणलाई विषालु सर्पले डस्यो। आधा घण्टा समय खेतमै बिताए। घरपुगेपछि छोरा, बुहारी र आफन्त भेला भए।
शरिरमा विष चढ्दै गयो। आँखा लठ्ठीन थाले। बोली आउन छाड्यो। कतिले धामी बोलाएर विष झार्ने सल्लाह दिए। तर, श्यामनारायणले मानेनन्। त्यसपछि स्वास्थ्य संस्थामा पुर्याईयो।
अब मरिन्छ की भन्ने चिन्तामा डुबेका श्यामनारायण औषधी चढाएपछी टाठ्ठिए। ‘अस्पताल पुर्याउन ढिलो गरेको भए म आज यो संसारमा हुने थिएन होला-’श्यामनारायणले भने–‘सर्पले टोकेका बिरामीलाई छिटो अस्पताल पुर्याईयो भने बाँचिदो रहेछ।’
सर्प देख्ने वित्तिकै लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी श्यामनारायण चौधरी अझैं अत्तालिन्छन्। त्यही भएर घर बाहिर निस्कदा सधैं उनको हातमा लठ्ठी हुन्छ। रातीको समयमा त लौरा र टर्च दुबै साथमा लिएर निस्कन्छन्। करिब पाँच वर्ष अघि विषालु सर्पले डसेपछि मृत्युको मुखमा पुगेका श्यामनारायणले उपचार पछि नयाँ जीवन पाए।
गुरु वा धामीको भर नपरेर उपचारको लागि स्वास्थ्य संस्था पुग्दा आफ्नो ज्यान बचेको उनले बताए। ‘गुरुवा धामीको भर नपरेर अस्पताल गएपछि निको भयो’-उनले भने–‘एक रात अस्पतालमा बिताए। निको भयो। अनि घर फर्किए।’
लमही नगरपालिका वडा नं. ५ निवासी बिष्णुमाया रिजाललाई सुतेको बेलामा सर्पले डस्यो। ओच्छ्यानसम्म सर्प आउदैन भन्ने विश्वास थियो उनलाई। तर, सर्पले हातको औंलामा डस्यो। सुरुमा मुसाले टोक्यो की भन्ने लागेछ। पछि उपचारको लागि अस्पताल पुग्दा सर्पले टोकेको पत्ता लाग्यो। अस्पताल सम्म हिडेर पुगेकी रिजाललाई बिस्तारै विष चढ्न थाल्यो। बोली बन्द हुन थाल्यो। लमही अस्पतालबाट नेपालगञ्ज पुर्याईयो। आइसीयुमा राखेर उपचार थालियो।
घर परिवार र आफन्तले माया मारिसकेका थिए। तर, उपचार पछि उनी निको भइन। ‘मलाई बिष चढेको देखेर माया मारिसकेका थिए। तर, उपचारले निको पार्यो’-उनले भनिन्–‘धामी बोलाएर बिष झार्न लगाउने भन्थे। तर, नमानेर अस्पताल गयौं। अस्पतालको उपचारले निको भयो।’ कच्ची घरमा मुसाले दुलो पारेको धेरै ठाउँमा छिद्र थियो। त्यही छिद्रबाट सर्प पसेको अनुमान गरियो।
लमही नगरपालिका वडा नं. २ निवासी सागर आचार्यलाई दुई वर्ष अघि सर्पले डसेको थियो। परम्परागत उपचारमा समय खर्च गर्दा अस्पताल पुर्याउन ढिलो भयो। तर, नेपाली सेनाले कपिलवस्तुको गोरुसिंगेमा स्थापना गरेको सर्पदंश उपचार केन्द्रबाट उनी निको भएर घर फर्किए।
‘बेलुकापख घर नजिकको बाटोमा हिड्ने क्रममा सर्पले टोक्यो । उपचारको लागि गोरुसिंगे लैजाने बेला बिष चढिसकेको थियो। एन्टी स्नेक भेनम चढाएपछि म निको भएँ’-उनले भने–‘सर्पले टोकेको शंका लाग्यो भने उपचारको लागि जतिसक्दो छिटो स्वास्थ्य संस्था पुग्न सल्लाह दिन्छु। सर्पको विष झारफुक गरेर झर्दैन। यसलाई उपचारबाटै निको पार्न सकिन्छ।’
सागरले टोकेको शंका लागेमा घाउँ बिगार्ने गरिन्छ। त्यसो नगर्न उनले सल्लाह दिन्छन्। ‘सर्पले टोकेको ठाउँमा चिरेर घाउ बिगार्ने, रगत सञ्चालन हुन नसक्ने गरी बाध्ने गरिन्छ। तर, यसो गर्नुहुदैन’-उनले भने–‘घरमा छ भने क्र्यापिङ्ग ब्याण्डेजले माथिदेखि तलसम्म विस्तारै बाध्नुपर्छ। रगत जाम नहुनेगरी बाध्नुपर्छ। अनि अर्काे कुरा झोल पदार्थ केही पनि खानु हुदैन।’
हरेक वर्ष दाङमा सर्पले डसेपछि उपचारको अभावमा अकालमा ज्यान गुमाउनेको संख्या पनि धेरै छ। झारफुक र धामी झाक्रीको भर पर्दा पनि ज्यान जाने गरेको छ। तर, समयमै अस्पताल पुर्याउदा मृत्युको मुखबाट फर्किएका पात्रहरु समाज भेट्न सकिन्छ।
सर्पको टोकाईबाट यसरी बच्न सकिन्छ
करिब ९० प्रतिशत सर्पदंश विषालु सर्पले गरेका हुँदैनन् । बाँकी १० प्रतिशत विषालु सर्पले टोकेपनि सबैले आफ्नो विष मानिसको शरीरमा छोडेका हुँदैनन् । तर अधिकांश सर्पदंशपछि विषले भन्दा पनि आँत्तिएर मानिसको मृत्यु हुने गरेको छ । सर्पदंशको उपचारमा अनुभव प्राप्त भेरी प्रादेशिक अस्पताल बाँकेका डाक्टर पारस पाण्डेका अनुसार सर्पको टोकाईबाट प्रभावित हुने व्यक्ति किसान हो । किसानपछि बालबालिका सर्पको टोकाइमा पर्ने गरेका छन्।
उनका अनुसार कृषि कार्यमा संलग्न हुदा होस या घर बाहिर निस्कदा खुट्टा पुरा ढाक्ने बुट, हातमा पञ्जा लगाउदा सर्पको टोकाईबाट बच्न सकिन्छ। सर्पको उपचार गर्नसक्ने चिकित्सकसम्म सर्पले डसेको आधाघण्टाभित्र पुर्याउन सके मृत्युको सम्भावना न्युन हुने उनी बताउँछन्।
विषालु सर्प टोकेपछि देखिने लक्षण
सर्प टोकेको ठाउँको छालाको रंग रातो हुन्छ त्यो ठाउँ सुन्निएको जस्तो लाग्न थाल्छ र तीव्र दुखाइ अनुभव हुन्छ।
विषाक्त सर्प टोक्नाले सास फेर्नमा असजिलो हुन लाग्छ, दृष्टि कमजोर हुन्छ र आँखा अगाडि धमिलो देखिन्छ । पीडित व्यक्तिलाई वाकवाकी लाग्नु, वान्ता हुनु, मुखबाट र्याल आउनु र छालाबाट अत्यधिक पसिना बग्न थाल्छ ।
विषालु सर्पले टोक्दा हातखुट्टा झमझम गर्न थाल्छ, विस्तारै हातखुट्टा संवेदनहीन हुन थाल्छ, पक्षाघातको लक्षण देखिन थाल्छ, स्वर टुक्रिन थाल्छ, आँखा खोल्न सक्दैन र कुनै पनि वस्तुलाई निल्न असजिलो हुन्छ । विस्तारैविस्तारै यो लक्षण बढ्न थाल्छ र मांशपेशीमा कमजोरी भएर ओठ र जिब्रो नीलो हुन थाल्छ ।
कोब्रा, करेत जस्ता विषालु सर्पका टोकाइका कारण देखिने लक्षणहरु
–स्वादमा भिन्नता
–बान्ता हुनु
–आँखाको परेला उठाउन गाह्रो हुनु
–स्वरमा परिवर्तन आउनु
–घाँटी भाचिने चिन्ह (ब्रोकेन नेक साइन)
–नाडी छिटो छिटो चल्नु
–स्वास फेर्न मा समस्या देखिनु
यसरी गरौं प्राथमिक उपचार
–बिरामीलाई सबै भन्दा पहिले शान्त पर्नु पर्दछ । सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदय घात बढी हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नु पर्दछ।
– बिरामीलाई सजिलो हुने गरी भुइमा सुताउनु पर्दछ र शरीर मा कसिएको समान हरु र कसिएको लुगा फुकाली दिनु पर्दछ ।
–टोकेको ठाउँ वरीपरि प्रेसर ब्यान्डेज लगाउने ।
–टोकेको ठाउँ लाई सकेसम्म नचलोस भन्न को लागि काठ वा स्प्लिन्त को प्रयोग गर्ने किनभने टोकेको भाग बढी चलेमा सर्प को बिष मांसपेशिका छिटो सोसित भएर रगतमा मिसिन सक्छ ।
यी सबै कुराहरु गरिसकेपछि छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्दछ ।
के नगर्ने ?
–टोकेको सर्पलाई मार्ने कोशिस नगर्ने । यसले गर्दा अरु व्यक्ति पनि घाइते हुन सक्दछ।
–टोकेको घाउलाई नचलाउने । यसबाट अरु इनफेक्सन हुने र बिष छिटो फैलिने सम्भावना हुन्छ।
–रवर वा डोरीले कडा रुपमा नबाधने। यसले रक्तसंचारलाई अबरुद्ध पार्छ। यदि रबर तन्किएर ४० मिनेट भन्दा बढी बाधेमा कोषिका हरु मर्दै (नेक्रोसिस) जाने छ र धेरै ढिलो भए नेक्रोसिस भएको भाग नै काटेर फ्याक्नु पर्ने हुनसक्दछ।
–धामी झाक्रीसँग उपचार गराउँछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएकोले जति सक्दो चाडो सर्पदंश उपचार केन्द्रमा लग्ने
–टोकेको ठाउमा कुनै चिजले नकाट्ने, नचुसने, कुनै मलम वा रासायनिक कुरा नदल्ने।