रुपन्देही–समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित टोलवासीले बधाई तथा शुभकामना दिएका छन्।
बुटवल उपमहानगरपालिका –१३ झोलुङ्गेपुलको हरियाली पथ निवासी प्रेमनारायण पोखरेलको परिवारलाई उपमहानगर सदस्य विष्णुकुमारी शर्मा र टोल समितिका अध्यक्ष पिताम्बर भण्डारी सहित टोलवासीले आज पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा नगरकातर्फबाट बधाई तथा शुभकामना दिए।
गत साउन २९ गते प्रेमनारायणका छोरा लेखनाथ र बुहारी विनितामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए। आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको भन्दै पोखरेलले सबैप्रति आभार व्यक्त गरे।
उपमहानगर सदस्य शर्माले सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहन आग्रह गरे।
“सर्तक रहँदा रहँदै पनि कोरोना लाग्न सक्छ तर लाग्यो भनेर छिमेकी र आफन्त नै टाढिने हो भने सङ्क्रमितको मनोबल खस्किन्छ । त्यसैले उहाँहरुलाई हौँसला बढाउन जरुरी छ”, –उनले भने–“सङ्कमण हुँदा मात्रै होइन निको भइसकेपछि पनि समाजमा घुलमिल हुन गाहे नहोस् भन्नका लागि टोलको यो प्रयास पनि सहननीय छ।”
आइसोलेशनमा रहेका बेला उपमहानगरपालिकाका प्रमुख उपप्रमुखसहित जनप्रतिनिधि घरमै आएर स्वास्थ्य लाभको कामना गर्दा थप हौँसला मिलोको बताउँदै पोखरेल परिवारले उच्च मनोवलका साथ स्वास्थ्य लाभ गर्न सफल भएको अनुभव सुनाए।
पछिल्लो समय बुटवलका विभिन्न वडामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै हरियाली पथका दुई परिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो।
पोखरेल परिवारले स्वास्थ्य लाभ गरे पनि अर्को परिवारका सदस्यहरु भने होम आइसोलेशनमै छन्। टोलमा सङ्क्रमित भएका परिवारको दैलोमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम निरन्तर भइरहेको टोल विकास समितका अध्यक्ष भण्डारीले बताए ।
टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति हेयभाव नराखुन भन्ने उद्देश्यले सबैलाई सचेत बनाइएको छ । “भोलि जोसुकैलाई पनि सङ्क्रमण हुनसक्छ, त्यसैले सबैले सबैलाई सहयोग, आदर र सम्मान गर्न जरुरी छ”–स्थानीय जमुना सुवेदीले भनिन्।