बुटवल-सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए।
प्रदेश ५ का ३ जिल्ला यो मापदण्डभित्र परेका छन्। रुपन्देही पाँचसयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला हो भने कपिलवस्तु र दाङ २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन्।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्। रुपन्देही, मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ र ललितपुर रहेका छन्।
त्यस्तै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन्। जसमा कपिलवस्तु, दाङ, सिराहा, भक्तपुर, मकवानपुर र कैलाली छन्। प्रदेश ५ का ३ जिल्लामै निषेधाज्ञा छ। निषेधाज्ञाको जनस्तरबाट विरोध शुरु हुन थालेको छ र बजार खुल्नेक्रम बढेको छ। रुपन्देहीको एक व्यवसायिक संस्था उद्योग व्यापार संगठनले त अब निषेधाज्ञा थप गरिए उल्लंघन गर्ने बताएको छ।
यसरी जनस्तरबाट विरोध हुनथालेपछि रुपन्देहीकै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लकडाउन वा निषेधाज्ञाको विकल्प खोज्नुपर्ने समय आउन लागेको संकेत गरेका छन्।
रुपन्देही, कपिलवस्तु र दाङसहितका प्रदेश ५ का पहाडी जिल्ला पाल्पा, अर्घाखाँचीलगायतका जिल्लामा पनि निषेधाज्ञा जारी छ। तर संक्रमितको संख्या बढ्दै जाने र जनस्तरबाटै अवज्ञा र विरोध शुरु भए के गर्ने भन्ने तयारी सरकारी निकायले गरेको देखिदैन।
किनभने पछिल्लो समय जारी निषेधाज्ञामा सुरक्षा निकायले पसलहरु खोल्ने समयभन्दा बाहेकको समयमा खुला राख्दा पनि कडाइ गर्न छाडिसकेको छ। बिहान र बेलुकाको केहीछिनको गस्तीपछि प्रहरीले वास्ता गर्दैन। जसको फाइदा उठाउँदै व्यापार व्यवसाय सञ्चालन हुन थालेका छन्।
सर्वेक्षणको भ्रममा नपर्न आग्रह
अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। उनले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए।
उनले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ । आजै १ हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो ।