गुल्मी–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका दुई सय ९९ वटा बस्ती अति जोखिममा छन् । अध्ययनपछि भूगर्भविदले निष्कर्ष दिएका छन् । भुगर्भबिद्ले गुल्मी जिल्ला ११ वटा वस्तीको भौगर्भिक अध्ययन गरेका थिए ।
त्यो मध्ये जिल्लाका चार स्थानीय तहका पाँच वटा बस्ती स्थानान्तरण गर्नुपर्ने बस्तीमा परेका छन् । भुगर्भविद्ले मालिका गाउँपालिका, धुर्कोट र गुल्मी दरवार गाउँपालिकाका एक/एक र मदाने गाउँपालिकाका दुई बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । तर स्थानान्तरणको कामले गति नलिएका कारण पहिरो प्रभावित परिवार जोखिम मोलेरै बसिरहेका छन् ।
त्यो मध्ये मालिका गाउँपालिका २ दर्लिङ्गको काशिलाबाँझ एक गाउँ हो । काशिलाबाँझका करिव ३५ दलित घर परिवार पहिरोको उच्च जोखिममा छन् । तर स्थानान्तरणको बिषयमा गाउँपालिका बेखर छ ।
प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले अहिलेसम्म स्थानान्तरणको बिषय आफुहरुलाई जानकारी नभएको बताए । काशिलाबाँझमा हिउँदमा खानेपानी पाइँदैन। बर्खामा घर–घरमा पानी पलाउँछ । ०७२ सालको साउनमा गाउँ नै पहिरोले बगाएपछि थुप्रै स्थानीय बिस्थापित भए । पानी परे भाग्ने ठाउँ पनि छैन।
बिस्थापित तत्कालिन समयमा केहि समय खुल्ला चौरमा बसे । तर स्थायी निकासमा कसैले चासो नदेखाएपछि बिस्थापित परिवार घरमै फर्केर बस्दै आएको स्थानीय दलित अगुवा रविन्द्र विकले गुनासो गरे ।
उनले प्राकृतिक प्रकोपसंगै भौगोलिक विकटताले राज्यको सेवा सुविधाबाट पनि आफुहरु पछि परेको बताए । स्थानीय तहपछि पनि बस्ती स्थान्तरणको काम केही भएको छैन। वडाध्यक्ष युद्धविर घर्तिले कहिलेकाँही कार्यपालिकामा छलफल भए पनि ठोस कार्ययोजना अगाडी नबढेको बताए ।
यो बर्ष अत्यधिक बर्षात भएकाले काशिलाबाँझका नागरिकले झनै सास्ती भोगेका छन् । अहिले झन गाउँ तल र माथीबाट मोटरबाटो निर्माण गरेकाले पानी परे निदाउँनै नसकिने पीडित युद्धविर विश्वकर्माले गुनासो गरे ।
उनले ०७२ सालपछि गाउँको अवस्था ०७४ सालका तीनै तहका चुनावमा नेताहरुसंग प्रमुख माग राखेको बताए । ‘सबैले खोलो तरेपछि लौरो बिर्सने रहेछन्,’–उनले भने,–‘मिडियाले सोध्दा आफैले मत दिएर जिताएकाले एक पटक सोधेनन्।’
मदाने गाउँपालिका ३ काफलपाटा र सिम गाउँका ३२ दलित घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्।
स्थानान्तरणको लागि दुई बर्ष अघि जग्गा खरिद गर्ने काम मात्रै भयो। काफलपाटाका ३० घर मध्ये ११ घर खन्यूखर्क र १९ घर परिवारलाई काफलपाटामै सामुहिक जग्गा खरिद गर्ने काम भएको वडाध्यक्ष नारायण घर्तिले बताए ।
दुई बर्षपछि अहिले घर निर्र्माणको लागि प्रति व्यक्ति ५०/५० हजार निकासा भएको छ । तर नापी मार्फत कित्ताकाट नभएका कारण घर निर्माणको काम ठप्प भएको खन्युखर्क एकिकृत वस्ती विकास समिति अध्यक्ष बिष्णुबहादुर बिकले जानकारी दिए । दुई गाउँ हिउँदा बर्खा दुवै समय पहिरोको उच्च जोखिममा छन् ।
तर बस्ती स्थानान्तरणको कामले गति लिएको छैन। बस्ती स्थानान्तरण गर्ने स्थानको डिपिआर र भौगर्भिक अध्ययनको काम मदाने गाउँपालिकाले सम्पन्न गरेको छ । भुगर्वबिद्ले प्रतिवेदन समेत दिएकाले स्थानीय तह र कार्यालयहरुबिच समन्वय नभएकाले बाँकी काम ठप्प भएको स्थानीय कृष्ण घिमिरेले बताए ।
घर निर्माण र भौतिक संरचनाको कामका बिषयमा भवन डिभिजन, राष्ट्रिय पुननिर्माण र स्थानीय तह स्पष्ट नभएको घिमिरेको भनाई छ ।
धुर्कोट गाउँपालिका ७ वाग्लाको अजमिरका १८ घर परिवार पनि स्थान्तरणको सुचिमा छन् । उनीहरुको अवस्था पनि घर र अन्य पुर्वाधार निर्माणमा गएर अडकिएको छ । उनीहरुलाई वडाचौरमा जग्गा खरिदको काम गरिएको छ ।
सुरुमा प्रति परिवार दुई÷दुई लाख रुपैयाँ प्राप्त भएकाले संयुक्त रुपमा घडेरी खरिद गरिएको र अहिले घर निर्माणको पहिलो किस्ता प्राप्त भएकाले घर निर्माणको प्रक्रिया अगाडी बढाइने वडाध्यक्ष हिमप्रसाद पन्थीले जानकारी दिए । तर घर निर्माणको बिषयमा पीडित परिवार अनबिज्ञ छन् ।
अजमिरका पहिरो पीडित बाबुराम विकले आफुहरु खाता खोलेर मात्रै बसेको बताए । उनले केही समय पहिले जग्गा खरिद गर्ने बाहेक केहि नभएको बताए ।
अझै पनि गाउँमा पहिरो जाने नरोकिएको र स्थान्तरणको काम ठप्प जस्तै भएकाले ढुक्कले निदाउने दिन नआएको गुनासो गरे ।
अजमिरबाट स्थानान्तरण हुने सवै परिवार विक र परियार छन् । आफुहरु आर्थिक तथा सचेतनाबाट पछि परेकाले कतै गएर बोल्न नसक्ने भएकाले बर्षौसम्म अन्यायमा परेको विकले बताए ।
गुल्मी दरवार गाउँपालिका १ बलिथुमको चारखुट्टे पहिरोको जोखिममा रहेको छ । त्यो ठाउँमा अहिले हुम बहादुर कुमालको परिवार मात्रै बसोबास गर्छन् । उनले अहिले भर्खरै घडेरी खरिद गरेर घर निर्माणको काम थालेको वडाध्यक्ष रामबहादुर पल्लीले जानकारी दिए ।