गुल्मी–दैनिक पानी पर्छ। यो बेला जमिन गलेको छ। अनकन्टार भिर। त्यहि भिरकोे कपेरामा थुप्रै श्रमिकले दैनिक जोखिमपूर्ण काम गर्न बाध्यता छन्।
ठूलो ढुङ्गाखानी। सिमसिम बर्षात। केहि तल महिलाहरुले गिट्टी फुटाउँछन्। ढुङ्गा झिक्ने पुरुषहरु छन्।
प्रत्येक सेकेण्ड जोखिम छ। तर कसैको टाउकोमा हेलमेट छैन। माथिबाट ढुङ्गा खरे हतपत भाग्ने बिकल्प छैन। ठूलो जोखिमका बीच बर्षौदेखि उर्र्लेनी ढुङ्गाखानीमा दुई सय विपन्न परिवारले जीवन खोजिरहेका छन्।
प्युठान गौमुखी गाउँपालिका ३ रजबारका ६१ बर्षीय अमरध्वज गुरुङ्गले ढुङ्गाखानीमा काम गर्न थालेका पाँच बर्ष भए।
प्युठान गौमुखी गाउँपालिका २ अर्खाकी ५० बर्षीया सुनिता बुढामगरले खानीमा काम गर्न थालेको १० बर्ष भए।
गुरुङ्ग र बुढामगर जस्तै गुल्मीसहित बाग्लुङ्ग र प्युठानका थुप्रैले खानीमा काम गर्छन्। उनीहरु अधिकांश बिहान ८ बजेबाट घाम नडुब्ने बेलासम्म खानीमै काम गर्छन्। एक ट्याक्टर ढुङ्गा पुराए एक हजार पाउँछन्।
छिनछिनमा जोखिम छ। ‘कसैले काम गर्ने कसैले हेर्ने,’गुरुङ्गले भने,‘काम नगरेरै खान पुग्ने भए प्युठानबाट आउने थिएनौ।’ पानी नपरेको बेला ढुङ्गाखानीमा करिव दुई सय जनाले ढुङ्गाको काम गर्छन्।
गुन बहादुरले खानीमै ज्यान गुमाए
खानीमै काम गर्ने रेसुङ्गा नगरपालिका १२ का ५१ बर्षीय गुन बहादुर विकको ज्यान गयो। उनले काम गरिरहेकै अवस्थामा पहिरो खस्यो।
गम्भिर घाइते विकको उपचारकै क्रममा ज्यान गयो।
उनलाई परिवार पाल्न सजिलो थिएन। त्यसैले अप्ठ्यारो काम पनि बर्षौ गरे। गुन बहादुरको मृत्यु भएको डेढ बर्ष भए। अहिले पनि श्रीमती मनकला सोही ढुङ्गाखानीमा गिट्टी कुटेर गुजारा चलाउँछिन्।
‘पहिरोले आँखै अगाडि श्रीमानको ज्यान गयो तर के गर्ने काम नगर्नुको अर्को विकल्प छैन,’मनकलाले भनिन्,‘तीन/चार जना केटाकेटीको गास धान्न गाह्रो छ।’ गुल्मी दरबार गाउँपालिका १ बलिथुमकी गाण्टी कुमारी कुवंर एक बर्षदेखि बिस्तारामै छन्।
उनी शारिरीक रुपमा पहिले पनि अपाङ्ग थिइन्। तर ज्यान पाल्नकै लागि सोहि ढुङ्गाखानीमा काम गर्थिन्। अचानक माथिबाट पहिरो खस्यो। अपाङ्ग भएकाले तत्काल भाग्ने कुनै उपाय थिएन।
पहिरोले च्यापिएर कुँवरको खुट्टा भाँचियो। ‘दैवले मेरो खुसी देखेन, चोटमाथि चोट खेपिरहेकी छु,’उनले भनिन,‘ढुङ्गा कुटेर छाक टार्नेलाई यो भन्दा ठूलो पीठा के होला।’
कोरोना कहरसंगै ढुङ्गाखानीको भर
प्युठान गौमुखी गाउँपालिका २ अर्खाकी ५० बर्षीया सुनिता बुढामगरले उर्लेनी ढुङ्गाखानीमा काम गर्न थालेको १० बर्ष भए। बुढामगर छोरा र छोरीसहित सदरमुकाम तम्घासमा बस्छिन्।
उनी बिहान ८ बजे नै खाना बोकेर आएपछि साँझा अवेरसम्म खानीमा गिट्टी फोर्छिन्। राम्रोसंग गिट्टी फोर्न पाए १० दिनमा एक ट्याक्टर पुग्छ। ठेकेदारले एक ट्याक्टरको तीन हजारदेखि पैैतिस सय दिन्छन्।
सुनिताले ढुङ्गा फोरेरै छोराछोरीलाई कक्षा १२ सम्म पढाएकी छन्। १५ बर्षदेखि श्रीमान गोविन्द बुढा मगर परिवारको सम्पर्कमा छैनन्।
बुढेशकालमा खानीमा आउने रहर नभएर सदरमुकामको खानपान, कोठाभाडा र छोराछोरीको पढाई खर्चले बाध्यता बनाएको बुढामगरले बताइन्।
कोरोना संक्रमणको कारण निर्माणको काम ठप्प भएपछि खानीमा ढुङ्गाको काम गर्नेहरु पनि प्रभावित भए।
उनीहरुले निकालेका ढुङ्गा र गिट्टी सदरमुकामका विभिन्न निर्माणका काममा खपत हुन्थ्यो। चार महिना कुनै काम भएनन्।
जसका कारण ढुङ्गा र गिट्टी बिक्री भएनन्। रेसुङ्गा नगरपालिका ४ सेउघाका ४१ बर्षीय ज्ञान बहादुर विक र श्रीमती फुलमायाले पाँच दिनमा एक ट्याक्टर गिट्टी पुराउँछन्।
तर दुख गरेर झरिमा कुटेका पाँच/सात ट्याक्टर गिट्टी बिक्री भएनन्। ‘संक्रमणले गरिवका ढुङ्गा समेत बिकेनन्, के खाने ? ज्ञान बहादुरले भने,‘ त्यहि माथि क्रसरले रोजिरोटी खोस्यो।’
निर्माण व्यावसायीहरु क्रसर तर्फ आकर्षित भएपछि खानी सञ्चालन र श्रमिक समस्यामा परेको खानी संचालक गीर बहादुर बस्नेतले गुनासो गरे।
‘पहिले क्रसर थिएनन, हातले फोरेकै गिट्टी प्रयोग हुन्थ्यो,’उनले भने,‘अहिले सरकारी मापदण्ड भनेर क्रसरकै गिट्टी खोज्न थालेपछि थुप्रै विपन्नको रोजिरोटी गुम्यो।’
सञ्चालकलाई जोखिमभन्दा काम प्यारो
खानीको जोखिम स्वयम् खानी सञ्चालकले पनि महसुस गरेका छन्। तर आफुहरुको मात्रै बिषय नभएर खानीबाटै परिवार पालेकाहरुको जिविकोपार्जन पनि महत्वपूर्ण भएकाले चलिरहेको अर्का खानी सञ्चालक चुरा बहादुर वस्नेतले बताए। उनले सवैलाई सकेसम्म जोगिएर काम गर्न आग्रह गर्दै ठूलो पानी परे काम रोक्ने गरेको जानकारी दिए।
उर्लेनीमा पाँच जनाले खानी संचालन गरेका छन्। खानी संचालक आफै जग्गा धनी हुन्। व्यक्तिगत जग्गामा श्रमिकहरुले काम गर्छन्।
उनीहरुबाट ढुङ्गा एक हजारदेखि १२ सम्म र गिट्टी तीन हजारदेखि पैत्तिस सयसम्ममा खरिद गर्ने गरिएको खानी सञ्चालक बस्नेतले जानकारी दिए।
खानी सञ्चालनहरुले श्रमिकबाट निर्माण व्यावसायीहरुलाई ढुङ्गा २२ सय र गिट्टी ५५ सयमा प्रति ट्याक्टर बिक्री गर्ने गरेका छन्।