काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रुपन्देही कारागारको आफू बसेको कोठाको भित्तामा अब कारागारमा कृष्णहरू नजन्मिने र जन्मिएकैहरूले कृष्ण बन्नुपर्ने कुरा लेखेर आएको जानकारी गराएका छन्।
उनले भैरहवा विमानस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँगको भेटका क्रममा उक्त कुरा जानकारी गराएका हुन्।
‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु, अब यहाँ कृष्णहरू जन्मिने छैन। तर, जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ,’ लामिछानेलाई उद्धृत गर्दै झाले भनेका छन्।
प्रवक्ता झाले आफूहरूसँगको भेटका क्रममा लामिछानेले राजनीतिक प्रतिशोधले मंगलग्रहमा लगे पनि आफू नडराउने बताएको जानकारी गराए।
‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन,’ लामिछानेलाई उद्धृत गर्दै झाले फेसबुकमा लेखेका छन्,’यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।’