बुटवल- नेपालमा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष रहेका छन् ।
रुपन्देहीका एक जना पुरुषको शनिबार, १ महिला र २ पुरुष गरी ३ जनाको आइतबार मृत्यु भएको थियो। मन्त्रालयको ब्रिफिङमा दिउसो २ बजेपछिको तथ्यांक अपडेट अर्को दिनको तथ्यांकमा आउने भएकाले मन्त्रालयले यी सबैको मृत्यु सोमबार भएको भन्दै समावेश गरेको छ।
यसअघि आइतबार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ महिला र सर्लाहीकी ३३ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो ।
शनिबार सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । जसमध्ये सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जना थिए ।
यसअघि शुक्रबार एकैदिन ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । जसमा मोरङ, पर्सा, सप्तरी, बारा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका एक-एक जना गरी ११ जना थिए ।