काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारमा संलग्नमाथि कडा कारवाही चलाउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने जोसुकै भए पनि कारवाही चलाउन निर्देशन दिइएको बताए।
'स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि कारवाही चलाउन यसअघि नै भनिसकिएको छ', उनले भने, 'यस्तो संकटको बेला खटेका स्वास्थ्यकर्मीमाथि कुनै पनि बहानामा हुने दुर्व्यवहार र अपमानजनक घटनाको मन्त्रालय कडा निन्दा गर्दछ।'
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका डाक्टरमाथि दुर्व्यवहार गर्ने मिलन चोकका स्थानीयमाथि कारवाही चलाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकिएको उनले बताए।
'सिभिल अस्पतालका डाक्टरमाथि हुलदंगा गर्नेमाथि कारवाही हुन्छ। उनीहरुलाई कारवाही गर्न जिल्ला प्रशासनलाई पत्र काटेका छौं', गौतमले अगाडि भने, 'यस्तो गलत कुरालाई कसैले पनि प्रोत्साहन नगर्नु हुन आग्रह गर्दछौं।