भैरहवा–रुपन्देहीमा शनिबार १७ जना कोभिड–१९ का संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार शनिबार साँझ ७ बजे सम्म लुम्बिनी प्रादेशिक अस्पतालबाट १४ जना र नेशनल प्याथ ल्याबबाट ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भने १२२ जनामा नेगेटिभ देखिएपनि यो प्रयोगशालाबाट रुपन्देहीको पोजिटिभ रिपोर्ट आएन।
प्याथ ल्याब र प्रादेशिक अस्पतालको रिर्पोट अनुसार ३ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
संक्रमण भएकामध्ये १० जना बुटवल उपमहानगरपालिका, ४ जना सिद्धार्थनगर, २ जना मायादेवी र १ जना तिलोत्तमा नगरपालिका क्षेत्रका रहेका शाहले बताए।
आज देखिएका नयाँ संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ३१ पुगेको छ जसमध्ये २८३ जना उपचाररत, ३४६ जना निको भएका र २ जनाको मृत्यु भएको छ।
जिल्लाको समग्र संक्रमितमध्ये बुटवल उपमहानगरपालिका क्षेत्रका सबैभन्दा बढी छन्। बुटवल उपमहानगरपालिकामा १५१ जनामा संक्रमण भएको छ। त्यस्तै सिद्धार्थनगरमा ८९, तिलोत्तमा नगरपालिकामा ७१, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१, सैनामैनामा ४४, सम्मरीमाईमा २८, गैडहवामा २७, कोटहीमाईमा २६, कञ्चनमा २५, देवदहमा २३, मायादेवीमा २१, सियारीमा १८, मर्चवारीमा १५, शुद्धोधनमा १६, रोहिणीमा ८, ओमसतियामा ७ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।