बुटवल-रुपन्देहीको कञ्चन गाउँपालिकामा एक किशोरीको शंकास्पद मृत्युलाई प्रहरीले गम्भीर रुपमा नलिएको भन्दै स्थानीयले सालझण्डीमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।
कञ्चन गाउँपालिका १ गजेडीकी १६ वर्षीया किशोरी घरनजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
साउन २२ गते राती ११ बजे एसएमएस गरेर स्थानीय १७ वर्षीय सुमन कालामगरले भेट्न बोलाएको र भेट्न गएकी किशोरीअर्को दिन झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले सुमनलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दा चलाएको छ। तर स्थानीयले उनीहरुबीच प्रेम सम्बन्ध रहेकेो र उनले हत्या गरेको दाबी गर्दै सोहीअनुसार मुद्दा चलाउनुपर्ने माग गरिरहेका छन्।
स्थानीय दुर्गा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेका उनीहरु एक वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेको मृतक किशोरीका अभिभावकको दाबी छ।
परिवार र स्थानीयले घटनामा गाउँका अरु युवाको पनि संलग्नता रहेको दावी गर्दै सबैलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन्।
घटनाका विषयमा बोले ज्यान लिने भन्दै धम्की दिने स्थानीय सातजना युवाहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने परिवार र स्थानीयको माग छ।
त्यसैराति जंगलमा भेटेका दुईजनाबीच शारीरिक सम्बन्ध भएको सुमनले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्। पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएकोले सोहीअनुसार मुद्दा अघि बढाएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक कमल परियारले बताए।
मृतकका बुवा रनबहादुर घर्ती र आमा सम्झनाले छोरीले आत्महत्या गरेको नभइ ती किशोरले हत्या गरेको दाबी गर्छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले घटनाबारे अनुसन्धान जारी रहेको र किशोरीको उमेर पनि नपुगेकाले जबरजस्ती करणी अभियोगमा समेत मुद्दा चल्ने बताएका छन्। उनले घटनाबारे अनुसन्धान भइरहेकोले थप बताउन नसकिने बताए।