बुटवल-बुटवलमा उपचाररत कोरोना भाइरसको संक्रमित १ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय पुरुषको आज शुक्रबार बिहान मृत्यु भएको हो।
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएर भदौ १ गते अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि मृत्यु भएको उनले बताए।
'बिहान एक्कासी उच्च रक्तचाप देखियो, आकस्मिक रगत दिँदा पनि सुधार हुन सकेन, उनले भने-त्यसपछि उहाँको मृत्यु भयो।'
भारतबाट रोजगारी गरेर फर्किएका उनी नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
सुगर र उच्च रक्तचापको बिरामीसमेत रहेका उनमा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ।