बुटवल-बुटवलको सुख्खानगरमा रहेको तिनाउ इन्टरनेशन हस्पिटल प्रालिमा उपचाररत एकजना बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार राती अस्पतालमा भर्ना भएकी २७ वर्षकी महिलामा आज बिहीबार संक्रमण पुष्टि भएको हो।
एपेन्डिसको शल्यक्रिया गर्नका लागि आएकी ती महिलाको शल्यक्रिया भइसकेको छ। राती शल्यक्रिया गरेको अस्पतालका चिकित्सकहरुले बताएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य महाशाखा अधिकृत गीता पाण्डेले जानकारी दिइन्।
बिरामीको सम्पर्कमा आएका चिकित्सक र स्वास्थ्यकर्मीहरु सेल्फ क्वारेन्टिनमा रहेका छन्। 'उहाँहरुसँग हामीहरु सोधपुछ गर्ने क्रममै छौं, -उनले लुम्बिनी टाइम्ससँग भनिन्-एपेन्डिसका कारण बिरामीको अवस्था गम्भीर हुँदै गएको र बिरामीलाई बचाउनु नै प्राथमिकतामा राखेर आफुहरुले जोखिम लिएको भन्ने कुरा गर्नुभएको छ, बिरामीको स्वास्थ्य सामान्य छ, चिकित्सकहरु केही त्रासमा देखिनुभएको छ।'
उनका अनुसार अस्पतालमा भर्ना भएका अरु बिरामी सुरक्षित छन्। अस्पतालको अवस्था र बिरामीको अवस्था हेरेर अस्पताल सिल गर्ने/नगर्ने टुंगो लगाउने उनले बताइन्।
अहिले बुटवल उपमहानगरपालिकाको टोली अस्पताल प्रशासनसँग छलफलमा छ।