कपिलवस्तु-१० प्रहरीसहित २४ जना संक्रमित थपिएसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बिहीबार जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्रका एकैपटक २४ जना कोरोना संक्रमित थपिएका हुन्।
थपिएका संक्रमितहरु कृष्णनगर र बहादुरगंज क्षेत्रको समुदायस्तरको रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
बिहीबार थपिएकाहरुमा १० प्रहरी, बुटवलको कान्ति विद्यालयका एकसहित ४ विद्यार्थी, ३ व्यवसायी, हुलाक र भन्सारका एक एक कर्मचारी, नेपाल बैंकका एक कर्मचारी, गृहणी एक र ३ समुदायस्तरका जना छन्। सिमावर्ती क्षेत्रमा रहेको कृष्णनगरमा समेत समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ।
यसअघि तौलिहवा क्षेत्रमा समेत कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ। गत साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३ सय २९ नमुनामध्ये २४ पोजेटिभ, ८७ नेगेटिभ र २१८ नतिजाको प्रतिक्षामा रहेको छ। कपिलवस्तु प्रदेश नम्बर ५ मै सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हो।