बुटवल । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ ।
विगत ६ बर्षदेखि मानव बेचबिखन बिरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका बिभिन्न स्थानहरूबाट उद्धार गरिएका ४ जना बालक र ३ जना बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो ।
दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो । ती बालबालिकाहरुलाई बिभिन्न वहाना तथा प्रलोभनमा भारत पुर्याइएको थियो ।
१ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकाहरुलाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
बालबालिकाको उद्धार र स्वदेशफीर्तिमा प्रत्यक्ष संलग्न संस्था केआइएनका निर्देशक नविन जोशीका अनुसार ती बालबालिका मध्ये ३ जना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहवरमा पारिवारिक पुनर्मिलन गराइएको छ ।
एक जना बालकलाई बालबालिका खोज तलास केन्द्रमा राखिएको छ । तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ । बालबालिकाहरु भरतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवास गृहमा राखिएको हो ।
उद्धार गरिएका मध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पारिएको केआइएनका निर्देशक जोशीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पाल्पाकी बालिकालाई लागु औषधप्रयोगकर्ताले सिमानाकामा भएको चेकजाँचमा बुहारी भनेर झुक्याएर भारत पुर्याएका थिए । ती बालिकालाई रेलवे स्टेशनबाट उद्धार गरिएको हो ।
पर्साकी बालिकालाई दिल्लीमा खोज तलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो । चारै जना बालकलाई दिल्लीबाट उद्धार गरिएको केआइएनले जनाएको छ ।
“प्रहरी तथा दुतावासले केआइएन इन्डियालाई केश फरवार्ड गर्नुहुन्छ । त्यही आधारमा काम गर्छौ”, निर्देशक जोशीले भन्नुभयो भेटिने भन्दा नभेटिने बालबालिकाको संख्या धेरै छ। ” सन् २०१८ देखि अहिलेसम्म केआइएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरेको जनाएको छ ।
“भारत धेरै जनसंख्या भएको देश हो । यहाँ ल्याइएकाहरु कुन क्षेत्रमा छन् भनेर लोकेशन पत्ता लगाउन निकै समस्या हुन्छ । फिल्डमा नदेखिने तरिकाले हाम्रो टिम परिचालन गरेर भारतीय प्रहरीको सहयोगमा उद्धारको काम गर्छौ ”, उहाँले भन्नुभयो ।