सल्यान। सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन ।
मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले हत्या गरेको आरोपमा नवीनलाई नियन्त्रणमा लिएको जानकारी दिनु भयो । उहाँका अनुसार हत्याको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान कार्य अघि बढाएको प्रहरीको भनाई छ ।
जिल्लामा पछिल्लो समय आपराधिक घटना बढ्दै जान थालेका छन् । तीन दिन अघि मात्र शारदा नगरपालिका १४ मा एक महिलाको मकै बारीमा घाँस काट्न गएकी महिलाको घाँटी रेटी हत्या भएको थियो ।