बुटवल । तपाईंले आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? केक काटेर, साथीभाईसँग रमाइलो गरेर वा अन्य केही । तर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ निबासी मोहन चापागाईंले आफ्नो जन्मदिनलाई रचनात्मक कामका लागि उपयोग गर्नुभएको छ ।
प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश विभागीय इन्चार्ज रहेका चापागाईंले जन्मदिनमा वृक्षारोपणका साथै अनाथ आश्रमममा सहयोग गर्दै मनाउनुभएको छ ।
जन्मदिनमा वृक्षारोपणको सुरुवात उहाँले दुईवर्षअघि देखि नै थाल्नुभएको हो । यसपल्ट उहाँले नमस्ते नेपाल नामक संस्थाको संयोजनमा आफ्नै निबास परिसरमा रुद्राक्षको बिरुवा रोप्नुभएको छ भने नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा आर्थिक सहयोग गर्नुभएको छ ।
गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका उहाँ काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । चापागाईंले आफूले ल्याएको मत बराबर रु २३ हजार ६३१ अनाथ आश्रमका लागि सहयोग गर्नुभएको हो । चापागाईंले आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई दिन आश्रममा सहयोग गरेको चापागाईंले बताउनुभयो । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”, उहाँले भन्नुभयो ।