बुटवल । महिला दर्शनार्थीमाथि यौनजन्य हिंसाको आरोपमा पाल्पाको भैरवस्थान मन्दिरका मूल पुजारी जीतनाथ योगीलाई निलम्बन गरिएको छ ।
रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थान मन्दिरमा दर्शनका लागि गएका महिलालाई संवेदनशील अंगमा छुने गरेको गुनासो आएपछि व्यवस्थापन समितिको बैठकले ७० वर्षीय योगीलाई निलम्बन गरेको हो ।
पुजारी योगीले महिलामाथि अभद्र व्यवहार गरेको भनी विभिन्न समाजिक सञ्चालमा समेत आएपछि बुधबार बसेको व्यवस्थापन समितको बैठकले सत्यतथ्य छानबिन नहुँदासम्मका लागि जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरिएको अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताउनुभयो ।
समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्तिमार्फत सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिनुभएको छ ।