भैरहवा । वालसुधारगृहको मापदण्ड र वालन्यायको मापदण्ड बिपरीत बालगृह संचालन गर्नुपर्ने परिस्थिति दुःखद रहेको सरोकारवालाले बताएका छन् ।
वाल सुधारगृह भैरहवामा रहेका वालकहरुका लागि छाला रोग तथा निशुल्क स्वास्थ्य परिक्षण तथा गर्मी मौसमबाट बच्नको लागि राहत सामाग्री बितरण कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।
एडभोकेसी फोरम नेपालको आयोजना वालकल्याण संस्था भैरहवाको सहकार्य तथा ओएम्सीटिको सहयोग तथा रोटरी क्लव अप सेन्ट्रल लुम्बिनीको समन्वयमा उक्त वालसुधारगृह मा रहेका ६८ जना बालकहरुका लागि आज स्वास्थ्य परिक्षण गरिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधिस कृष्णराम कोइरालाले वालसुधारगृहको स्थापना, वालन्याय र वालअधिकार सम्बन्धि अन्तराष्ट्रिय सन्धिहरुको कार्यन्वयन समेतका आधारमा वालसुधारगृहको अवधारणा आएको भएतापनि सिमित स्रोत साधन र सामाजीक सोंचका कारण वालन्याय अप्ठेरोमा रहेको बताउनु भयो ।
उहाँले उमेरलाई दृष्टिगत गरि वालवालिकालाई कम भन्दा कम सजायको ब्यवस्था गर्नुपर्नेमा झन् कडा सजाय हुनुले वालवालिकाको बृत्ति विकासमा समस्या भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले वालन्यायको नाममा राज्यले यसरी वालवालिका राख्दा झन् अन्याय भएको बताउनुभयो । यसरी बालसुधारगृहको मापदण्ड बिपरीत बालगृह संचालन हुनु दुःखद भएको र फेरी पनि राज्यले ध्यान नदिँदा यो अवस्थामा वालगृह संचालन गरेर बालकहरुलाई झन् बढी यातना भएको बताउनुभयो ।
बरिष्ठ अधिबक्ता शिव प्रसाद गौडेलले वालन्याय झने जटिल बन्ने गरि वालवालिकाका बिषयमा कानून कठोर बनेको बताउँदै पीडित र पीडक भनिएका वालवालिकाको सामाजीक हैसियत समान हुने भएका कारण यसरी थुनामा राखिएका बालकहरुलाई न्याय लचिलो हुनुपर्ने बताउनुभयो ।
वालसुधार गृहका बालबहरुलाई स्वास्थ्य परीक्षण गर्दै भिम अस्पताल भैरहवाका छाला रोग बिशेषज्ञ डा.कुशल गुरुङ्ले वालसुधारगृहमा रहेका वालकहरुको स्वास्थ्यमा आउने बिभिन्न समस्या मध्ये छालासंग सम्बन्धित रोगहरु सबै वालकहरुमा स्वास्थ्य परिक्षणको क्रममा ८० प्रतिशत वालकहरुमा लुतो र एलर्जीको समस्या रहेको पाइएको बताउनुभयो ।
उहाँले वालकहरुमा बसाईको दुरी कायम नहुनु, सरसफाइको अभाव, सूर्यको प्रकाश वा उज्यालो शरीरले नपाउँदा यस प्रकारको समस्या हुने उल्लेख गर्नुभयो ।
परीक्षणका क्रममा वालकहरुमा आँखा तथा हाड जोर्नी दुख्ने समस्या पनि देखिएको डा.कुशलले बताउनुभयो । उहाँले उज्यालो प्रकाशको प्रत्यक्ष छालामा पर्न नपाउँदा पनि भिटामिन डि को कमीका कारण यस प्रकारको समस्या आउने बताउनुभयो ।
यसको समाधान सुर्यको प्रकाश पर्ने खुल्ला स्थान र सरसफाई भएको उहाँको भनाइ छ । यस सुधारगृहको स्थान अभावका कारण वालकहरुले घाम देख्न नपाउने धेरै जना बस्ने, सुत्ने ओछ्याउने कपडाको सरसफाईको अभावमा यस किसिमको समस्या आएको बताउनुभयो ।
वालकल्याण संस्था भैरहवाका महासचिब दिलिप मल्लिक, एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक अधिबक्ता इन्दिरा आचार्यले तिनै तहका सरकार बीच समन्वमा मापदण्ड अनुसार बालगृह सञ्चालनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।