बुटवल । बुटवलमा अहिले अत्याधिक गर्मी छ । दैनिक ४० डिग्री माथि तापक्रम पुगेपछि जनजिवन प्रभावित भएको छ । चर्को गर्मीका बीच अनियमित विद्युत आपूर्तिले नागरिक मारमा परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च बुटवलले आज नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रमा डेलिगेशन गई समस्याबारे ध्यानाकर्षण गराएको हो ।
मञ्चले अनियमित भइरहेको विद्युत्त आपुर्तिलाई सहज बनाउन माग गरेको छ । अत्याधिक गर्मीका कारण जनजिवन अस्तव्यस्त भइरहेको समयमा विद्युत कटौती हुँदा समस्या भएको जनाउँदै समस्या समाधान गर्न आग्रह गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जि.सीको नेतृत्वमा गएको टोलीले विद्युत वितरण केन्द्रका इन्जिनियर विनोद शर्मासँग भेट गरी नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन माग गरेको हो ।
उपभोक्ताका हितमा काम गर्ने संस्था भएकाले अत्याधिक गर्मीका समयमा विद्युत कटौती नगर्न विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गराएको अध्यक्ष जिसीले बताउनुभयो ।
विद्युत वितरण केन्द्रका इन्जिनियर शर्माले विद्युतको बढि खपत भएकाले समस्या आएको भन्दै समाधानका लागि पहल गर्ने बताउनुभयो ।