रुपन्देही । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले लैङ्गिक समानता र सशक्तीकरणका पक्षमा कलम चलाउन पत्रकार महिलाहरुसँग आग्रह गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चारिका समूह लुम्बिनीले आज बुटवलमा आयोजना गरेको स्थानीय तहको विकास र न्यायबारे पत्रकार महिलालाई अभिमूखीकरण कार्यक्रममा बोल्दै उहाँले मिडियाले महिलाका मुद्धालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले न्यायिक समितिमा महिलाका मुद्धा भन्दा घरजग्गा र सीमा विवाद बढि आउने गरेको बताउँदै अहिलेसम्म ७२ मुद्धा दर्ता भएको बताउनुभयो । जसमध्ये ४७ मुद्धा फस्र्यौट गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले न्यायिक समितिबाट गुनासो नआउने गरी सेवा दिएको उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले मिडियाले स्थानीय तहका असल अभ्यासलाई बाहिर ल्याउनुपर्ने बताउनुभयो ।
सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाको क्षमता बढाउन अभिमूखीकरण आयोजना गरिएको बताउनुभयो ।
उपमहानगरका प्रेस सल्लाहकार सिपी खनालले संबिधानले तय गरेका साझा अधिकार र एकल अधिकारबारे स्थानीय तहबीचमा विवाद देखिएकाले मिडियाले यो विषय उठान गर्नुपर्ने बताउनुभयो ।
कानुन, न्याय तथा मानव अधिकार प्रवद्र्धन शाखाका विष्णु पुरी, सञ्चारिका समूह लुम्बिनीका सचिव माया केसी लगायतले उपमहानगरका कामलाई मिडियामार्फत जनतामा पुर्याउन सहज हुने भएकाले समन्वय बढाउनुपर्ने बताउनुभयो ।