गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते हुनुभएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।
आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडा नम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्बर–३ हाडहाडे बर्दवास जङ्गलमा बिहीबारदेखि लागेको आगो निभाउन गएका बेला शरीरको बाहिरी भाग पुरै जलेको प्रहरीले जनाएको छ । जङ्गलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् ।
आगो नियन्त्रणमा आउन सकेको छैन । बिहीबार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो बस्तीमा पुग्दा २ जनाकोघर गोठ जलेर नष्ट भएको छ ।