रुपन्देही । विद्यालय पोसाकमा रुपन्देहीको सियारी गाउँपालिका–१ चिल्हियाका एक बालक ३ दिनदेखि सम्पर्कविहीन भएका छन् । चैत ३० गते विद्यालयबाट निस्किएका १४ वर्षीय दिपांशु कार्की हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि अपिल गरे पनि अहिलेसम्म भेटिएका छैनन् ।
चैत ३० गते घरबाट विद्यालय गएको भए पनि विद्यालयमा परीक्षाको नतिजा सुने लगत्तै बिहान १० त्यहाँबाट साइकिल लिएर निस्किएका थिए ।
सोही दिनको मध्यान्न करिब १२ बजेको समयमा तिलोत्तमाको ड्राइभर टोलमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा सिसिटिभी फुटेज भेटिएको पत्रकार नरेश केसीले जानकारी दिएका छन् ।
स्थानीय लुम्बिनी ज्ञानज्योति ईङ्गलिस बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययन गर्ने दिपांशु परीक्षामा राम्रो नतिजा नआएपछि घरपरिवारले गाली गर्ने डर वा अन्य कुनै कारणले सम्पर्कविहीन भएको हुनसक्ने पारिवारिका सदस्यले आशंका गरेका छन् ।
विद्यालयको पोसाकमै उनी सम्पर्कविहीन भएका हुन् । विद्यालयका पोसाक सेतो कालो धर्का रहेको सर्ट, कालो पाइन्ट र जुत्ता लगाएको परिवारले जनाएको छ ।
बालक सम्पर्कविहीन भएपछि सोही दिन नै बुवा टेकबहादुर कार्कीले स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए भने शुक्रवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित जाहेरी दिए पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । फेला पार्ने व्यक्तिले परिवारको फोन नम्बर ९८०३०८३६९५ वा ९८४७२२१८४८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
जाहेरी प्राप्त भए लगत्तै नेपाल भारत सीमा क्षेत्र तथा रुपन्देही र छिमेकी जिल्लाका सम्भावित क्षेत्रका प्रहरी चौकीहरूमा समेत सर्कुलर जारी गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।