भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं ३ कार्यालयले एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ ।
चिसो मौसमलाई मध्यनजर गर्दै १४० जनालाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले स्थानीय जनताको आवश्यकतालाई मधयनजर गरेर पालिकाले काम अघि बढाएको बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो, ‘जनतालाई नजिकबाट सेवा दिन्छौं, रोहिणीलाई नमूना गाउँपालिका बनाउँछौं, विकासका एजेण्डामा एकताबद्ध छौं । ’
गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले स्थानीय नागरिकलाई आवश्यक परेको समयमा जनप्रतिनिधी साथमा रहने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले सबैलाई समेट्न र सँगसँगै लैजाने प्रयास गरेको बताउँदै स्थानीय सरकार पालिकाको विकासका लागि नागरिकसँग हातेमालो गर्दै अघि बढेको बताए ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले नागरिकको समस्या समाधानमा वडा कार्यालय र गाउँपालिका लागिपरेको बताउनुभयो ।