बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं ८, खुर्सानेमा बिहीबर राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना महिलाको मृत्यु भएको छ।
रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १७ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
पाल्पा रैनादेबी ८ खुर्साने गाँउकी ३६ वर्षिया निर्मला घिमिरे, ११ वर्षिया सरुमाया घिमिरे, ५४ वर्षिया खिमकुमारी राना, ४० वर्षिया गिरिकुमारी गाहा, २१ वर्षिया सामकुमारी खत्री र १९ वर्षिया बिना पाण्डे रहेका वडा नं ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो । घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र ४ जना पुरुष रहेका छन्।
प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्ने सो सडकमा बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।