बुटवल । सुनचाँदी व्यवसायीहरुले विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायमा असुरक्षा बढेर गएको हुँदा व्यवसाय पलायन बढेर जाने खतरा देखिएको हुँदा व्यवसायिक सुरक्षाको माग गरेका छन् ।
उनीहरुले अपराधिक तत्वबाट हुने चोरी, लुटपाट तथा सुनको अभावमा व्यवसाय सञ्चालन गर्न निकै कठिन भएको बताउदै त्यसमा राज्यको ध्यानाकर्षण गराएका छन् ।
आज बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको तेस्रो बार्षिक साधारणसभाको उद्घाटनसत्रमा बोल्ने व्यवसायका अगुवाहरुले उक्त धारणा राखेका हुन् ।
सभाको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल नगरमा रहेका सुनचाँदी व्यवसायीहरुको संरक्षण, व्यवस्थापन र सुरक्षाको जिम्मेवारी स्थानीय सरकारको पनि रहेको हँुदा त्यसमा आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
पाण्डेले व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्न योजनाबद्ध रुपमा कामहरु गर्ने बताउदै सुनचाँदी व्यवसायीहरुको प्रमुख समस्याका रुपमा रहेको सुरक्षाको विषय राज्यकै जिम्मेवारी भएको हुँदा बुटवल सुनचाँदी व्यवसायीहरुका लागि सुरक्षित क्षेत्र हो भन्ने बनाउन सबैमा आग्रह गर्नुभयो ।
सम्बोधनकाक्रममा पाण्डेले बुटवलमा छरिएर रहेका सुनचाँदी व्यवसायीहरुलाई एक छातामुनी राख्ने व्यवस्था गर्ने सोंच नगरपालिकाले गरेको उल्लेख गर्दै त्यसमा व्यवसायीहरुको स्पष्ट धारणा दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचाँदी व्यवसायीहरुका समस्याका बारेमा राज्यलाई धेरै पटक अवगत गराएको भएपनि नितिगत रुपमा कुनै परिर्वतन हुन नसकेको गुनासो गर्नुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एम वी विश्वकर्माले सुनचाँदी व्यवसाय अति संवेदनशील व्यवसाय भएका कारण यसलाई सञ्चालन गर्दा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
महासंघका अर्का केन्द्रीय सदस्य दीपककुमार विकले व्यवसायलाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कशजु, रुपन्देही व्यापार संघका महासचिव दयानीधि भण्डारी, नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष राजु लिगल, बुटवल वडा नं. ४ का अध्यक्ष नरिश्वर पौडेल, सुनचाँदी संघका अध्यक्ष गकुल विश्वकर्मा, लगायतले सरकारले व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।