रुपन्देही । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।
नापजाँचको काम सकिएका अव्यवस्थित बसोबासीहरुका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको भूमि आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका र मायादेवी गाउँपालिकाबाट वितरण सुरु गरेको हो । बुटवल उपमहानगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
बुटवल वडा नं. १९ का १२ र मायादेवी वडा नं. ८ का ६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन रहेको उहाँले बताउँदै अहिले ३ हजार जग्गाधनीको लालपुर्जा तयार भएको बताउनुभयो । जिल्लाको बुटवल देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताउनुभयो ।
लालपुर्जा तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै उहाँले सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपुर्जा वितरण गरिएको बताउनुभयो । जनतालाई जग्गाको मालिक हुने अधिकार संविधानमा नै व्यवस्था भएका कुरालाई ऐन नियमबाट लागू गर्दै आयोगले काम गरेको उहाँले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अव्यवस्थित जग्गाको ब्लक छुट्टाइएको र नापजाँच भएका जग्गाको विधि, प्रक्रिया कानुन अनुसार लालपुर्जा वितरण गरिएको बताउनुभयो । बुटवलमा अव्यवस्थित समस्या धेरै रहेको बताउँदै राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तीव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बुटवलमा करिब ३० हजार जना अव्यवस्थित रुपमा बसोबासमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।