बुटवल । लुम्बिनी बौद्ध महिला समितिको आयोजनामा दुई दिने उद्घोषण तालिम लुम्बिनीमा सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै लुम्बिनी बौद्ध महिला समितिका प्रमुख संरक्षक भन्ते सागर धम्मले संसारमा बोलि नै बिक्ने भएकाले चाहेको कुरा भन्न सक्ने क्षमता सबैमा हुनुपर्ने बताउनुभयो ।
“कुनै पनि व्यक्तिकोबारेमा आफ्नो धारण बनाउन उसको बोलि सुनेर हो, त्यसैले अभिव्यक्ति राम्रो हुनुपर्छ, सटिक र प्रष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो ।
तालिमका प्रशिक्षक सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरा गौतमले बोल्नु र विधिपूर्वक बोल्नुमा फरक रहेको बताउँदै बोल्ने बानीको विकासले नै आत्मबल बढ्ने बताउनुभयो । “यो दुई दिन उद्घोषणका लागि पर्याप्त समय होइन तर यसले तपाइँहरुमा इच्छाशक्ति जगाएको छ”, उहाँले भन्नुभयो ।
लुम्बिनी बौद्ध महिला समितिका अध्यक्ष विष्णुकुमारी बस्यालले बोल्न नजान्दा लुम्बिनी क्षेत्रका महिलाहरु पछि परेकाले उनीहरुको आत्मबल बढाउन तालिमको आयोजना गरेको बताउनुभयो ।
महिलाहरुमा आत्मबल वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा २० जना महिलाको सहभागिता रहेको बौद्ध महिला समितिका सचिव इन्दु नेपालले जानकारी दिनुभयो ।