बुटवल । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ । निर्वाचनको मिति जतिजति नजिकिँदो छ । विभिन्न राजनीतिक दलका उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । रुपन्देहीमा अन्य दलसँगैं नेकपा एमाले उम्मेदवारहरु पनि जनताको घरदैलोमा पुगेका छन् ।
चुनावी एजेण्डा र प्रतिबद्धतासहित एमालेका उम्मेदवारहरु मतदाताको दैलोमा छन् । खासगरी रुपन्देही निर्वाचन क्षेत्र नं २ मा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल नै प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएपछि बुटवल क्षेत्रका मतदाता उत्साहित छन् ।
चुनावी प्रचारका लागि घरदैलोमा पुगेका पौडेललाई मतदाताले फूलमालाले स्वागत गर्दैै आगामी प्रतिवद्धता चासोका साथ हेरेका छन् ।
मन्त्री भएका बेला दर्जनांै आयोजना भित्र्याएर समग्र जिल्लाको विकास गरेको भन्दै मतदाताले उनलाई स्याबासी मात्रै दिएका छैनन् सुरु भएका गौरवका आयोजना समयमा पूरा गर्न खबरदारी गर्न आग्रह गरेका छन् । “काम गरेकालाई गरेको भन्नुपर्छ । विष्णु पौडेल मन्त्री हुँदा यहाँ धेरै योजना परे । भोलि प्रधामन्त्री हुने संभावना बोकेको व्यक्ति हो । त्यसैले हाम्रो साथ एमालेलाई हुन्छ”, बुटवल –५ की लक्ष्मी पाण्डे भन्नुहुन्छ ।
पौडेलले मतदाताका माझ मत माग्नेभन्दा पनि बुटवलसहित समग्र जिल्लालाई सुन्दर सहरका रुपमा परिणत गर्न के गर्न सकिन्छ भनेर सुझाव मागिरहनुभएको छ ।
पौडेल अर्थमन्त्री भएका बेला गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल बेलहिया ६ लेन सडक, तिनाउन नदीमा पुलहरु निर्माण, बुटवलमा अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण, तिनाउ दानव सडक, सिद्धबाबा सुरुङमार्ग लगायत दर्जनौं ठूला परियोजनाहरु रुपन्देहीमा सुरु भएका छन् केही सकिएका छन् भने केही भरखर सुरु हुँदैछन् ।
यतिमात्र होइन शिक्षा र स्वास्थ्यमा समेत राम्रो बजेट आयो जसले गर्दा पौडेलको उचाइ यो क्षेत्रमा बढेको मतदाताको बुझाइ छ । “शहरी सडककै नमुना सडकहरु बुटवलमा बन्ने भएकाले बुटवल सुन्दर सहरका रुपमा परिणत हँुदैछ । अन्य पूर्वाधारका योजना पनि समयमै पूरा गर्न सबैले दबाब दिनुपर्छ । सुरु भएका योजना पूरा भएमात्रै रुपन्देही विकासको रोलमोडल बन्छ ”– पौडेल भन्नुहुन्छ ।
प्रतिनिधि सभामात्र होइन प्रदेशसभामा समेत पार्टीका अब्बल उम्मेदवारहरु चुनावमा उत्रिएपछि मतदाता उत्साहित भएका छन् । प्रदेशका मन्त्री भइसकेका लिला गिरी क्षेत्र नं २ को (१) का उम्मेदवार हुनुहुन्छ
गिरीलाई सादगी र इमान्दार नेताका रुपमा धेरैले चिन्छन् । “नेपालको राजनीतिमा थोरै मात्र इमान्दार छन् ती मध्ये लिला गिरी हुन् । हामीले उहाँँको व्यक्तित्व बुझेका छौं त्यसैले उहाँलाई छोडेर अरुलाई रोज्ने कुरा हुँदैन”, तिलोत्तमा १ का दयानिधी ज्ञवाली भन्नुहुन्छ ।
मन्त्री भएका बेला सडक पूर्वाधार, पर्यटन, धार्मिक पर्यटन, मठमन्दिर, वन तथा वातावरणका क्षेत्रमा धेरै योजनाहरु छनोट गरेर काम अघि बढाएकाले ती योजना पूरा गर्न र नयाँ योजना शुरु गर्न आफू उम्मेदवार बनेको गिरी बताउनुहुन्छ ।
शंकर पोखरेल नेतृत्वको सरकारमा रहँदा आफूले जनताको सेवक बनेर काम गरेकाले अहिले पनि जनताले साथ दिने उहाँको विश्वास छ ।
त्यस्तै प्रदेश सभा २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठलाई पनि चुनाव प्रचारका लागि भ्याइनभ्याइ छ ।
बुटवलको मेयर हुँदा आधुनिक बुटवलका योजनाकार मानिने श्रेष्ठले २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारद्वारा गठित सुकुम्बासी समस्या समाधान आयोगको जिम्मेवारीमा रहँदा धेरै काम गरेको सम्झना बुटवलवासीलाई छ ।
आयोगको अध्यक्षको हैसियतले ५ हजारभन्दा बढी बुटवलका सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेका नेता श्रेष्ठ उम्मेदवार भएपछि सुकुम्बासी बस्तीका मतदातालाई लालपूर्जा पाउने आशा अझै मरेको छैन ।
२०७४ को पहिलो प्रदेशसभा निर्वाचनमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए । प्रदेश सरकारमा ९९ दिन मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा जनपक्षीय काम गरेका श्रेष्ठ अहिले पनि जनताको साथ रहनेमा ढुक्क हुनुहुन्छ । उहाँले प्रदेशमा निःशुल्क रगत तथा अक्सिजन प्लान्ट स्थापना लगायतका काम गर्नुभएको थियो