रुपन्देही । चाडवाडलाई ध्यानमा राखेर बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले आजदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ ।
उहाँले चाडवाडमा यात्रुहरुको भीडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रुपमा औषधि छर्ने कामलाई पनि निरन्तर अघि बढाएको बताउनुभयो ।
कोभिड – १९, डेंगु र अन्य स्वासप्रस्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो ।