रुपन्देही । लुम्बिनी प्रदेशमा आत्महत्या रोकथामका गर्न अभियान शुरु गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना कार्यक्रममा यो अभियानको घोषणा गरिएको हो ।
अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले आत्महत्या सामाजिक समस्या बन्दै गएको बताउनुभयो ।
आर्थिक तथा विभिन्न पारिवारिक कारण व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेकाले सचेतना जगाएर यसको नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ । यसको नियन्त्रणका लागि संघ र प्रदेश मिलेर निश्चित योजना बनाएर अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले नेपालमा आत्महत्याको दर उच्च रहेको बताउँदै लुम्बिनीमा यो वर्ष केही कम देखिएको बताउनुभयो । उहाँका अनुसार लुम्बिनीमा यो वर्ष १३ सय ४१ र गत आर्थिक वर्ष मा १४ सय ८ जनाले आत्महत्या गरेको जानकारी गराउनुभयो ।
“आफैले आफैको हत्या गर्नु आत्महत्या हो । पारिवारिक र सामाजिक तनावका कारण व्यक्तिले आत्महत्या गर्छ । प्रहरी संगठनमा पनि तनाव छ । जसका कारण प्रहरीले आत्महत्या गर्छ्न”, उहाँले भन्नुभयो ।
आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका सचीव कोमलप्रसाद धमलाले आत्महत्या मन व्यवस्थापनसंग जोडिएको विषय भएकाले योग र ध्यानबाटै यसको नियन्त्रण हुने बताउनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले आत्महत्या व्यक्तिको सोचको परीणाम भएकाले सोचमा परिवर्तन ल्याउन आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा मनोरोग विशेषज्ञ डा. असिम रेग्मीले कसैले फरक व्यवहार देखायो वा आफुलाइ हानी पुर्याउने काम गर्यो भने त्यसलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि रिमा बिसी, पत्रकार माधव ढुंगाना, ओरेक नेपालका प्रतिनिधि धनकुमारी चौधरी लगायतले आत्महत्या नियन्त्रणका लागि समाजमा सचेतना जगाउन, किटनाशक औषधीको बिक्रीवितरणका लागि उचित मापदण्ड बनाउन र प्रत्येक पालिकामा मनोबिमर्श केन्द्र स्थापना गर्न सुझाव दिनुभएको थियो ।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा नेपाल सातौ स्थानमा रहेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा आत्महत्याका घटना छ्न । त्यसपछी दाङ, कपिलवस्तु, प्युठान, पाल्पा छ्न । लुम्बिनीमा सबैभन्दा बढी १६ देखी २५ वर्ष उमेर समुहका व्यक्तिले आत्महत्या गरेका छ्न ।
कसैले मर्न वा मार्न चाहेको कुरा गर्नु, आत्महत्या गर्ने मध्यमको खोजी गर्नु, निरास हुनु, रिसाउनु , झर्किनु र अचानक फरक व्यवहार देखाउन थाल्यो भने त्यस्तो व्यक्तिमा समस्या छ भन्ने बुझ्नुपर्ने प्रहरीको भनाइ छ ।
यो अभियान अन्तर्गत, स्थानीय तह, सामाजिक संघस्था, विद्यालय तथा सबै सरोकारवालासँग समन्वय गरिने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।