दाङ । नेपाल बन्दको मौका छोपेर चालक र सहचालकले नै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक राप्ती गाउँपालिका–८ पिपरी निवासी ३२ वर्षीय अरुण चौधरी र सह–चालक गढवा गाउँपालिका–७ चन्दनपुर निवासी १७ बर्षीय आकाश चौधरीले आफैले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताउनुभयो ।
बन्दको मौका छोपेर लाभ उठाउने गरी आफै आगजनी गरेको खुल्यो उहाँले भन्नुभयो बिमा दाबी गर्न आफैले आगो लगाए । घटना शङ्कास्पद भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
घोराही–लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शङ्कास्पद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । टिप्पर चालकले पाँच(छ जनाको समूहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए ।