रुपन्देही । रुपन्देहीका व्यवसायी समुन्द्र जिसीलाई बुटवलको मुख्य सडकमा यात्रा गर्दा विकटको गाउँ याद आउँछ । हिउँदमा धुलो र वर्षातमा पानीले सडक अस्तव्यस्त भएपछि यात्रा गर्न निकै कठिन भएको उहाँको दुखेसो छ ।
बुटवलको मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारी प्रियान्श भण्डारीले पनि सडकका खाल्डाखुल्डी, धुलो र हिलोका कारण दैनिक कार्यालय जाँदा हैरानी खेप्नु परेको छ ।
“बाटो हिडेपछि थकाई लाग्छ ज्यान दुख्छ । सहरमा बस्ने अनि बाटोमा त्यो पनि सवारी साधनमा हिड्दा थकाई लाग्यो भन्न लाज लाग्छ, धुलोको कुइरिमण्डलमा ठुला गाडीले कति बेला कहाँ पुराई दिने हुन् भन्ने डर लाग्छ,” उहाँले भन्नुभयो ।
बिहान कार्यालय जाँदा लगाको कपडा हिलो छ्यापिएर फेरी घरमा गएर फेरेर आउनु परेको नमिठो अनुभव पनि उहाँसँग छ ।
सडक निर्माण समयमै सम्पन्न नहुँदा गाडी चालक, यात्रु तथा व्यापार व्यवसायीलाई समस्या भएको छ । दैनिक समाचार संकलनका लागि ओहोरदोर गर्न पर्ने भएकाले पत्रकारहरुले समेत हैरानी खेप्नुपरेको छ । “रेडियोको कार्यालय लक्ष्मिनगर भएकाले दैनिक यात्रा गर्दा साह्रै समस्या भएको छ । एक पटक खाल्डोमा परेर आफैँ दुर्घटनामा परेकी छु”, पत्रकार अस्मिना पाण्डेले गुनासो गर्नुभयो ।
सडको दुरावस्थाले बुटवलमा यात्रा गर्ने जो कोहिलाई पनि दिक्क बनाएको छ । “बुटवल देखि मुक्तिनाथ सपरिवार मोटरसाइकलमा जाँदा बरु त्यति अप्ठेरो लागेन, जति भुड्की चोक देखि लक्ष्मिनगर गेटसम्म जादा लाग्छ”, सञ्चारकर्मी सञ्जय सौगात भन्नुहुन्छ ।
साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको सडक निर्माणको काम ६ वर्षसम्म पनि पूरा नभएपछि बुटवलको मुख्य सडकको अवस्था लथालिंग छ ।
सडक समयमा निर्माण सम्पन्न नभएपछि जनस्तरबाट दबाब बढेपनि बुटवलको सडक निर्माणको ठेक्का लिएको द कञ्चनजङ्घा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि भने ठेक्का सम्झौताको म्याद थप्न लागि परेको छ ।
बुटवल–बेलहिया सडक निर्माण आयोजनाकाअनुसार सडक निर्माणको अन्तिम म्याद २०७९ साल असार ३० गतेसम्म रहे पनि निर्माण कम्पनीले साउन ८ गते म्याद थपको लागि आयोजनामा निवेदन दिएको थियो ।
बुटवलको मुख्य बजारभित्र रहेको राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको साढे तीन किलोमिटर सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप गर्न मिल्नेगरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ ।
गत असार २० गतेमात्र ल्याइएको सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमा गरिएको व्यवस्थाअनुसार असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको आयोजनाको ठेक्का अवधि अझै एक वर्ष म्याद थप्न मिल्ने प्रावधान राखिएको छ ।
बुटवल सडक निर्माणको जिम्मा लिएको बुटवल–बेलहिया सडक निर्माण आयोजनाका अनुसार असार २० गते आएको १२ औं संशोधनले असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद सकिएको २१ दिनभित्र निवेदन लिने र उक्त निवेदनलाई म्याद थप प्रक्रिया अगाडि बढाउन सकिने प्रावधान राखिएको छ ।
राजमार्ग चौराहदेखि बेलहिया सम्मको सडक निर्माण पूरा हुनै लाग्दा २०७३ साल चैत १७ गते राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।
सम्झौताअनुसार २०७६ साल असोज १२ गतेसम्म काम सक्नुपर्ने समयसीमा तोकिए पनि सुरूआती समयमा सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले अगाडि बढ्न नसकेको काम अदालतको आदेश पनि भने ठेकेदार कम्पनीको ढिलासुस्तीले अगाडि बढ्न सकेको छैन ।
२०७३ सालमा ठेक्का सम्झौता गरिए पनि अदालतको स्टे–अर्डरका कारण रोकिएको सडक विस्तारको काम २०७५ वैशाख १२ गते अदालतको आदेशले बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रो पटक २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । तर, निर्माण व्यवसायीको ढिलासुस्तीको कारण ठेक्का अवधि पूरा हुँदा पनि सडकको निर्माणको काम भने ३० प्रतिशत मात्रै पूरा भएको छ ।
२०७३ सालमा ठेक्का सम्झौता गर्दा भ्याट समेत गरी ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिए पनि गतवर्ष नाली निर्माणको काम समेत थप गरी ५३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । उक्त रकममध्ये निर्माण कम्पनीले अहिलेसम्म भ्याट समेत गरी १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ । जुन कुल ठेक्का रकमको २५ प्रतिशत हो ।
यसअघि जेठ १० गते डिभिजन सडक कार्यालय, बुटवल उपमहानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजनासामु असार मसान्तसम्म पुष्पलाल पार्क, राजमार्ग चौराह र ट्राफिकचोकमा सबभन्दा सडक बिग्रिएको र उक्त सडक ढलान गर्ने तथा नाली निर्माणको काम पूरा गर्ने लिखित सहमति गरे पनि निर्माण कम्पनीले सहमति लत्याउँदै आएको छ ।
अहिले अस्पताल लाइनको पूर्वतर्फको साढे चार सय मिटरको सडक कालोपत्रे गरिए पनि पश्चिमतर्फको सडकमा खाडल परेर हिँड्न मिल्ने अवस्था छैन । त्यस्तै, नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ ।
केही क्षण घाम लाग्दा धुलाम्य हुने सडक पानी पर्दा हिलोले हिँड्न नमिल्ने अवस्थामा पुग्ने गरेको छ ।
द कञ्चनजंगा बिरूवा जेभी प्रालि कन्स्ट्रक्सन प्रालिले अलपत्र बनाएको बुटवलको सडकमात्र भने होइन । यसअघि यही कम्पनीले निर्माणको जिम्मा लिएको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत भैरहवा अञ्चलपुरदेखि लखनचोकसम्म र भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारीसम्मको सडक पनि अझै अलपत्र रहेको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख दीपक झाले सडक निर्माणको काम समयमा नभएपछि स्पष्टिकरण सोधिएकाले सन्तोषजनक काम र जवाफ नआए कारवाही गर्ने बताउनुभयो । सडक निर्माणमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यवसायमा समेत प्रभाव परेको छ ।
व्यवसायी यात्रु तथा चौतर्फी गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी समाधानको बाटो खोज्न आग्रह गरेको छ । बुटवलमा गत सोमबार भएको छलफलमा सिद्धार्थ राजमार्गअन्तरगत बुटवल–बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न २ वटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ ।
सडक समयमा निर्माण नहुँदा चौतर्फी आलोचना भएपछि निर्माण कम्पनीले भने भदौदेखि काम अघि बढाउने जनाएको छ । निर्माण कम्पनीका ठेकेदार सुवित श्रेष्ठले भदौ असोजसम्म अस्पताल लाइन क्षेत्रको सडकको काम पूरा गर्ने र अरु काम पनि अघि बढाउने बताउनुभयो ।